काँग्रेसलाई ६० लाख दिन्छु भन्ने व्यक्ति गायब
काँग्रेस सभापति शेरबहादुर देउवाले ‘काँग्रेसीहरु पढ्दैनन्’ भन्ने भाष्य निर्माण गरिएकोमा आपत्ति जनाउनुभएको छ । सानेपास्थित पार्टी केन्द्रीय पुस्तकालय र अध्ययन स्रोत केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री देउवाले पार्टी कार्यालयमा निर्माण गरिएको पुस्तकालयले नेता तथा कार्यकर्तालाई कांग्रेसको आदर्श र सिद्धान्तबारे अवगत गराउने विश्वास समेत व्यक्त गर्नुभएको छ । तर पुस्तकालय पार्टी कार्यालयको भुइँ तलमा बनाउनुपर्नेमा माथिल्लो तलमा निर्माण गरिएकोमा उहाँले असन्तुष्टी पोख्नुभयो ।
‘महामन्त्रीजीले केन्द्रीय कार्यालयमा पुस्तकालयको व्यवस्था गरेर ठूलो काम गर्नुभएको छ, उहाँले भन्नुभयो, ‘मैले त पुस्तकालय तल राखौं भनेको तर उहाँले माथि राख्नुभएको छ, उसै त कांग्रेसीहरू पढ्दै पढ्दैनन् भन्छन्, फेरि माथि को जान्छ पढ्न भन्ने पनि छन् !’
त्यस्तै, पार्टी महामन्त्री गगन थापाले पुस्तकालय निर्माणको लागि ‘६० लाख दिन्छु’ भन्ने व्यक्ति नै गायब भएको बताउनुभयो । एक व्यक्तिले ६० लाख दिन्छु भनेपछि पुस्तकालय निर्माणको लागि आफू उत्साहित बनेर काम थालेको, तर ती व्यक्ति भने अहिले सम्पर्कविहीन रहेको थापाको भनाई छ ।
‘त्यो साथीले ६० लाख दिन्छु भनेर नभनेको भए मैले लाइब्रेरी बनाउँछु भन्ने प्रस्ताव सभापतिकोमा लैजानै सक्दैन थिएँ, ६० लाख दिन्छु भनेर मेरो हिम्मत बढाउनुभयो, तर त्यो दिनदेखि उहाँ फर्केर आउनु भएको छैन’, उहाँले भन्नुभयो, ‘४० लाख रुपैयाँ पार्टीको साथीहरूबाट उठाएर दिने जिम्मा मेरो भयो भन्नुभयो, र माथिपट्टिको कोठामा डिजाइन भयो । मोटामोटी एक करोडको हाराहारीमा खर्च आउँछ भन्ने भयो, उहाँले ६० लाख जुटाउने जिम्मा मेरो भन्नुभयो, तर अहिले उहाँ गायब हुनुहुन्छ ।’
टिप्पणीहरू