एमाले विवादवीच कसरी चुहियो भारत भ्रमणको खबर ?
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ मसान्तका दिन गर्ने भनिएको भारत भ्रमणबारे परस्पर विरोधी धारणा बाहिरिएका छन् । एमाले मुख्यालय च्यासलमा अस्ति अपरान्ह पूर्व राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्न जाने क्रममा प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट निस्केपछि उहाँको भारत भ्रमणको खबर एकाएक भाइरल भएको थियो ।
सत्ता नेतृत्व गरेको एक वर्ष पूरा भइसक्दा पनि भारतले निम्तो नदिएको सन्दर्भमा आएको उक्त खबर आफैमा नौलो थियोे । जबकि स्वयम परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरु भ्रमणबारे अनभिज्ञता जनाइरहेका थिए । आन्तरिक राजनीतिक खेल र रणनीतिलाई काबुमा राख्न उक्त खबर फैलाइएको उनीहरुको आशंका छ ।
परराष्ट्रका अधिकारीहरु भन्छन्, ‘हाम्रो च्यानलमा अहिलेसम्म त्यस्तो केही भैसकेको छैन । तर,प्रधानमन्त्री र पूर्वराष्ट्रपतिबीच हुन लागेको चर्चित भेटअघि एकाएक खबर फैलिनुलाई अर्थपूर्ण मान्न सकिन्छ । प्रधानमन्त्री बालुवाटारबाट निस्केपछि तर च्यासल नपुग्दै त्यो समाचार मिडियामा भाइरल भएको थियो । त्यतिबेला पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगिसक्नुभएको थियो ।’ अर्कोतर्फ भारतले पूर्वराष्ट्रपतिलाई औपचारिक भ्रमणको निम्तो दिएको र माओवादीसहित काँग्रेसको असन्तुष्ट समूह कुनै हालतमा प्रधानमन्त्रीको भारत भ्रमण नगराउन लागिपरेको सन्दर्भमा बाहिरिएको उक्त समाचारलाई ‘रणनीतिक उद्देश्य’ मान्न सकिने विश्लेषकहरु बताउँछन् ।
एमाले स्रोतका अनुसार भण्डारीले प्रधानमन्त्रीको भ्रमणअघि आफू भारत नजाने म्यासेज उता दिइसक्नुभएको छ । झण्डै दुई महिनापछि हुने भनिएको भारत भ्रमणबारे प्रधानमन्त्रीले अघिल्लो साता पत्रकार विजयकुमार पाण्डेसँगको कुराकानीमा मिति नतोकी संकेतसम्म दिनुभएको थियो । प्रधानमन्त्री भदौ ३१ गते भारत भ्रमणमा जानुभएको अवस्थामा भोलिपल्ट असोज १ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मोत्सवमा सहभागी हुने अवस्था पनि छ ।
राजदूत रहिसकेका परराष्ट्रका एकजना सहसचिव भन्छन्, ‘उच्चस्तरीय भ्रमणमा दुई महिनाअघि डेट डिस्क्लोज कहीं कतै गरिँदैन । यसपटक भने रणनीतिक हिसाबले सार्वजनिक गरिएको हुनुपर्छ ।’ हुनतः प्रधानमन्त्रीले शुक्रवार राति आजदेखि नयाँ दिल्लीमा जारी गृहसचिवस्तरीय वार्ता टोलीसँग कुराकानी गर्नुभएको थियो । नौ वर्षपछि भएको उक्त वार्ताले पनि प्रधानमन्त्रीको भारत भ्रमणको आन्तरिक तयारी भएको एकथरीको अनुमान छ ।
टिप्पणीहरू