च्यासलको माहौल गरमबाट नरमतिर
पूर्वराष्ट्रपति तथा एमाले तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा प्रवेशको घोषणापछि तातेको पार्टी मुख्यालय च्यासलको वातावरण केही शान्त भएको बताउन थालिएको छ । संस्थापन पक्षका नेता तथा कार्यकर्ताले सचिवालय, पोलिटब्युरो हुँदै केन्द्रीय समितिको दोस्रो दिनको बैठकसम्म आइपुग्दा अघिल्लो साताको गर्माउँदो आन्तरिक राजनीति मत्थर हुँदै गएको निश्कर्ष निकालेका हुन् ।
उनीहरुले अस्ति अपरान्हको भेटपछि पार्टी मुख्यालयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र भण्डारीले नेता तथा कार्यकर्ताबीच देखाउनुभएको बडी ल्याङ्वेजले पहिलेको प्रचार बिस्तारै शान्त हुने निचोड सुनाउन थालेका छन् । भन्छन्, ‘प्रधानमन्त्रीलाई हातले अघि सर्न आग्रह गर्दै पूर्व राष्ट्रपतिले मदनको शालिकलाई पृष्ठभूमिमा राखेर फोटो खिचाएको अवस्था नै सकारात्मकतर्फ अघि बढेको सन्देश हो ।’ हिजोदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा ओली निकटस्थहरुको आवाजको तुलनामा भण्डारी निकटस्थहरुको दबिएको सुनिएकाले पनि अध्यक्ष पक्षधरहरुले उक्त धारणा बनाएका हुन् ।
भेटका लागि भण्डारी आधाघण्टा अगाडि च्यासल पुग्नुभएको थियो । उहाँलाई डा. भीष्म अधिकारीले स्वागत गरेर पार्टी अध्यक्षको कार्यकक्षमा पुर्याएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेललगायतले स्वागत गरेको देखिन्थ्यो । वार्ताको क्रममा अध्यक्ष र विद्याबीच राजनीतिक घोचपेच राम्रैसँग भएको दुबै पक्षको दाबी छ । तर पार्टी कार्यालयमा आएर वार्ता गर्नु, पार्टी सदस्यता नवीकरण भइसकेको धारणा राख्नुलाई विद्या कूटनीतिक रुपमा अघि बढेको अर्को पक्षको बुझाइ छ ।
तर पूर्व राष्ट्रपति पार्टी कार्यालय पुग्ने बेलामा उहाँ निकट भनेर चिनिएका विभिन्न जनवर्गीय संगठनका सदस्यहरुको लामो अन्तरालपछिको च्यासल आगमनलाई अध्यक्ष निकटस्थले खिसिट्युरी गरेको सहजै देखिन्थ्यो । संस्थापन पक्षका एकजना भन्छन्, ‘त्यसरी पुग्नेमा अखिलमा सात भोटले पराजित अध्यक्ष प्रकाश पौडेल, युवा संघका पराजित अध्यक्ष सुमन पुरी, युवासंघ पराजित उपाध्यक्ष पर्वत भण्डारी, अखिलको उपाध्यक्षमा हारेकी आरती भट्टराईहरु थिए ।’ प्रकाश र सुमन चुनाव हारेपछि पार्टी कार्यालय गएका थिएनन् । अस्ति अपरान्ह राजकुमार राई विद्याभन्दा एक घण्टा अगावै पुगेर निकै सक्रिय भएकोमा पनि अरुले अर्थपूर्ण ढंगले हेरेका थिए ।
अध्यक्ष ओलीले उहाँको सदस्यता नवीकरणबारे हालसम्म नकारात्मक कुरा नगरेको, हाम्रो कुरो मिलिसक्यो, हल्लाको पछाडि नलागौं भन्ने प्रतिक्रिया दिएको र स्वयम् पूर्वराष्ट्रपतिले सदस्यता नवीकरण समस्या र नयाँ विषय नभएको बताएपछि परिस्थिति गरमबाट नरमतिर गएको अर्थ लगाइएको हो ।
टिप्पणीहरू