अध्यक्षको पक्षमा बोल्नैपर्ने बाध्यताले च्यासलमा त्राहिमाम
सत्तारुढ दल नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बोल्नैपर्ने परिस्थित सिर्जना गरिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन र उमेर हदसम्बन्धी विषयमा अध्यक्षको विचारमा सहमत हुनेगरी मात्र बोल्न निर्देशन दिइएको बैठकस्थलबाट एक जना केन्द्रीय सदस्यले जनआस्थालाई बताए । हिजो करिब ५० केन्द्रीय सदस्यले धारणा राखेकोमा ६/७ जनाले मात्र भण्डारीको पक्षमा बोलेका थिए ।
बैठकमा सहभागी उनै केन्द्रीय सदस्यका अनुसार अध्यक्ष ओलीकै पक्षमा बोल्न महाचिव शंकर पोखेरलले अघोषित संयोजन गरिरहेका छन् । मनोवैज्ञानिक त्रास देखाएर विधान संशोधन प्रस्ताव अनुमोदन गराउने रणनीति अपनाइएको छ ।
‘मेरो व्यक्तिगत दृष्टिकोण चाहिँ उमेर हद र दुई वर्षे कार्यकालको प्रावधान कायम गर्नुपर्छ भन्ने नै हो, र पूर्व राष्ट्रपतिज्यू नेतृत्वमा आउँदा पक्कै केही राम्रो हुनेछ’, ती सदस्यले भने, ‘तर यहाँको (बैठक) परिस्थिति त्यस्तो छैन, मैले प्रष्ट विचार राख्दा म नै केन्द्रीय सदस्य नरहन सक्छु भन्ने त्रासदीको वातावरण सिर्जना गरिएको छ, त्यसैले मैले पनि अध्यक्षज्यूकै विचारमा एकमत हुनेगरी बोलेँ, अधिकांश नेताहरुको हकमा यस्तै भएको छ ।’
आज पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताको बारेमा पार्टीको साझा धारण निर्माण गरेर बैठक समापन गर्ने तयारी रहेको पनि ती सदस्यले जानकारी दिए ।
टिप्पणीहरू