प्रधानमन्त्रीसँग देउवा लाचार बनेको शेखरको निष्कर्ष

प्रधानमन्त्रीसँग देउवा लाचार बनेको शेखरको निष्कर्ष

नेपाली कांग्रेसको संस्थापन इतर खेमाका नेता डा. शेखर कोइराला पछिल्लो समय पार्टी नेतृत्वप्रति आक्रमक सुनिन थालेका छन् । अन्य दलका शीर्ष नेता र पार्टीमा आफू निकटहरुसँग भेटघाट र छलफललाई तीब्रता दिएका उनी सभापति शेरबहादुर देउवासँग सन्तुष्ट छैनन् । 

आज काठमाडौँमा आयोजित ४३औँ बिपी स्मृति दिवस कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति देउवा लाचार बनिरहेकाे बताए । प्रधानमन्त्री ओलीले जे गर्दा पनि सहमति दिएर पार्टीलाई थप बदनामा हुने काम देउवाबाट भैरहेको उनको गुनासो च । 

‘कुलिङ पिरियडमा हामीहरूले बोल्यौं ? सभापतिजीले प्रधानमन्त्रीलाई अगाडि राखेर भन्नुपर्छ, यो स्वीकार्य हुन्न फटाफट गर्नुस्, तर त्यो हाम्रो कल्पना मात्रै हुने भयो’, कोइरालाको आक्रोश छ, ‘कांग्रेसको मुटुमा, कोरभ्यालुमा एमालेले हामीलाई आक्रमण गरिराखेको छ, र पनि हाम्रो नेतृत्व चुपचाप लागेर बसिरहनुभएको छ, यदि बिपी भएको भए यो कुरा स्वीकार गर्नु हुँदैनथ्यो, खोइ सभापतिको अडान ?’

भूमिसम्बन्धी विधेयकमा सतर्क रहन पनि उनले सभापति देउवालाई सचेत गराए । एमालेले आफ्नो स्वार्थको लागि उक्त विधेयकलाई फास्ट ट्रयाकबाट पारित गराउन खेलोफड्को गरिरहेको कोइरालाको अनुमान छ । 

एमालेसँगको संगतले कांग्रेसीहरु पनि लोभी बन्दै गएको बताउँदै उनले थपे,  ‘भूमिसम्बन्धी विधेयक समितिमा जान्थ्यो, भ्रष्ट मन्त्री एक जनाले त राजीनामा दिनुभयो, अझै एक जना बाँकी हुनुहुन्छ, कांग्रेसका साथीहरू कति लाछी भइसकेका रहेछन्, एमाले कास्कीका जिल्ला समितिले भूमिमन्त्रीले राजीनामा दिनुपर्छ भनेको छ, तर हामी चुप लागेर बसेका छौं, योभन्दा लाछीपन के हुन्छ हाम्रो ?’

कांग्रेसीहरूले पार्टीको मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई बिर्सिदै गएकोमा कोइरालाको चित्त दुखाई छ । भन्छन्, ‘कांग्रेसको विचारमा कमी छैन, तर कांग्रेसको मूल्यमान्यतामा जबसम्म हामी अड्दैनौं यस्ता समस्या आइरहन्छ। भूमि विधेयक के हतार छ पारित गर्न ? आजभोलि नै पास गर्न ? किन समितिमा छलफल गर्न एमालेका सांसदहरू डराइरहेका छन् ?’
 

टिप्पणीहरू