फोहोरको शुल्कले भरतपुरमा किचलो

फोहोरको शुल्कले भरतपुरमा किचलो

फोहोरको मनलाग्दी शुल्क उठाउँदै निजी कम्पनी, सरोकारवालालाई छैन जानकारी ! प्रसंग हो, चितवनको भरतपुर महानगरपालिकाको । महानगरले फोहोर संकलनको रेट तोकिदिएको भएतापनि निजी कम्पनीले मनलाग्दी शुल्क उठाउन थालेपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयका अनुसार महानगरले प्रतिफ्ल्याट एक सय ६० रुपैयाँ तोकेकोमा कम्पनीले पाँच सय रुपैयाँ असुल्दै आएको छ । 

फोहोरमैला संकलन र व्यवस्थापनका लागि महानगरले २०८१ मंसिर १ गते ‘एनके इन्टरनेशनल कन्स्ट्रक्सन प्रालि’ सँग सम्झौता गरेको थियो । वडा नम्बर ४ स्थित कार्यालय रहेको निजी सेवाप्रदायक कम्पनीलाई भ्याटबाहेक सात करोड ६२ लाख रुपैयाँमा तीन वर्षका लागि ठेक्का दिएको महानगरले जनाएको छ । सो कम्पनीले महानगरभित्रका २९ वटै वडाको फोहोर संकलन गर्दै आएको छ । 

महानगरले सम्झौता गर्ने बेलामै फोहोरको शुल्क निर्धारण गरिदिएको छ । जसअनुसार आवास र डेराको मासिक शुल्क एक सय ६०, खुद्रा पसलको तीन सय, थोक पसलको चार सय, बैंक, कार्यालय, विद्यालय, कलेजको पाँच सय, मासु तथा माछा पसल, वर्कसपको दुई हजार सात सय, पार्टी प्यालेस, डिपार्टमेण्टल स्टोरको दुई हजार पाँच सय, तरकारी तथा फलफूल पसलको नौं सय, सैलुन–सौन्दर्य पार्लर, घरेलु उद्योगको पाँच सय रुपैयाँ तय भएको छ । 

मलहरुको हकमा मासिक शुल्क २५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले नगरसभाबाट पारित भएको शुल्क मात्र लिन पाउनेमा आफूखुशी शुल्क उठाउँदै आएको छ । जसको चर्को विरोध भइरहेको छ । स्थानीयले कम्पनीले आफूखुशी बढाएको शुल्क नतिर्ने अडान लिएका छन् । 

त्यहाँका एक स्थानीयले बढेको शुल्क नतिर्ने बताए । पुरानो कम्पनीले एक सय ६० लिँदै आएकोमा नयाँले पाँच सय रुपैयाँ मागेको उनको भनाइ छ । जनआस्थासँग उनले भने,‘पुरानो कम्पनीले एक सय ६० रुपैयाँ नै लिने गरेको थियो । नयाँले पाँच सय रुपैयाँ माग्छ । एकैचोटि कहीँ तीन सय ४० रुपैयाँ बढ्छ ? यहाँ कसैले पनि फोहोरको शुल्क नतिर्ने भन्नुभएको छ ।’ 

महानगरको सरसफाइ शाखा प्रमुख सुरज पौडेलले फोहोरको शुल्क नबढेको बताए । उनका अनुसार भ्याटचाँहि बढेको छ । ‘फोहोरको शुल्क बढेको छैन, भ्याटचाँहि बढेको छ’,उनले भने ।
 

टिप्पणीहरू