नियुक्ति, बढुवा र सरुवा भटाभट

नियुक्ति, बढुवा र सरुवा भटाभट

पछिल्लो दुई पटक बसेका क्याबिनेट बैठकका निर्णय सार्वजनिक गरिएका छन् । मंसिर २५ र २९ गते बसेको बैठकले गरेका १५ वटा निर्णयमध्ये विदेशी ऋण स्वीकार गर्ने पनि छ । जसमा स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेण्ट एण्ड डेभलप्ड सर्भिस डेलिभरी कार्यक्रमको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर (करिब १४ अर्ब ३८ करोड बराबर) सहुलियतपूर्ण ऋण स्वीकार्ने निर्णय गरिएको छ । 

त्यस्तै, दुई सय र पाँच सय दरका भारतीय नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजारसम्म भारतबाट नेपाल वा नेपालबाट भारत लैजान स्वीकृति दिने, प्रचलित कानूनमा व्यवस्था भएबाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने व्यवस्था हटाउने, सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि अधिकृतस्तरका आठ पदमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ । 

युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने, सिरहाको लहानस्थित १–१५–१० बिघा जग्गा तथा सोमा बनेको भवन मधेश प्रदेश सरकारको रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने पनि क्याबिनेट निर्णय छ । 

बैठकले राजनीतिक दल र अन्य सरोकारवाला पक्षसँग संवाद गर्न कानूनमन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहनेगरी उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने, नेपाली सेनाका दुई महासेनानीलाई सहायक रथी तथा एक प्रमुख सेनानीलाई महासेनानीमा बढुवा र ६ जना उपरथी तथा सात जना महासेनानीहरुको सरुवा गर्ने पनि निर्णय भएको छ । 

राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्षमा डा.प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा.सुनीति श्रेष्ठलाई नियुक्त गर्ने र आउँदो पुस १२ गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौं बैठकका निम्ति कृषि सहसचिवको संयोजकत्वमा प्रतिनिधिमण्डल गठनको निर्णयसमेत क्याबिनेटको छ ।

यसैगरी, मंसिर २५ गतेको क्याबिनेट बैठकले जाँचबुझ आयोगको कार्यक्षेत्र थप्ने, जेनजी प्रतिनिधि र प्रधानमन्त्रीबीच मंसिर २४ गते भएको सम्झौता अनुमोदन तथा कार्यान्वगन गर्ने, समाज कल्याण परिषद्को सचिवमा सरोजकुमार शर्मालाई मनोनयन गर्ने र न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई राजपत्राङ्कित विशिष्ट श्रेणी पदमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
 

टिप्पणीहरू