भ्रष्टाचारमा मुछिएका मोहनलाई अतिथि बनाएकोमा जिसस प्रमुखको प्रतिक्रिया- उहाँले रहर गरेपछि रोक्न सकिएन
भ्रष्टाचार मुद्दाका अभियुक्त, निलम्बित संसद तथा नेपाली कांग्रेस नेता मोहन बस्नेतलाई सरकारी कार्यक्रममा अथिति बनाइएकोप्रति चौतर्फी विरोध भैरहेको छ । जिल्ला समन्वय समिति (जिसस)ले बस्नेतलाई अथिति बनाएर कार्यक्रम गरेपछि विभिन्न राजनीतिक दलका नेताहरुले आपत्ति जनाएका छन् ।
यो विषयले संसदमा समेत प्रवेश पाएको छ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले भ्रष्टाचारको गम्भीर मुद्दा खेपिरहेको व्यक्तिलाई कुन नैतिकताको आधारमा सरकारी कार्यक्रममा बोलाइयो ? भनी आजको प्रतिनिधिसभा बैठकमा प्रश्न गरे ।
‘भ्रष्टाचारको मुद्दा लागेको र यही सदनबाट निलम्बित भएकालाई सिडियो कार्यालयले अथिति बनाएर तामझामसहित कार्यक्रम गर्छ, कार्यालयको फेसबुक पेजबाटै फूलमाला लगाइएका तस्वीर सार्वजनिक हुन्छन्, सिडिओ भनेको अख्तियारको एक प्रतिनिधिजस्तै हो, कुन नैतिकताले त्यस्ता मान्छेलाई बोलाइन्छ ? गृह मन्त्रालयले जवाफ देओस्’, उनले भने ।
असार १२ गते बस्नेतलाई अथिति बनाएर कार्यक्रम आयोजना गरिएको थियो । सांसद सापकोटाले कार्यक्रमको आयोजक सिडिओ कार्यलय भने पनि मुख्य आयोजक भने जिल्ला समन्वय समिति रहेको बुझिएको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले उक्त कार्यक्रमको संयोजन जिसस प्रमुख बालकृष्ण श्रेष्ठले गरेको जानकारी दिए । जनआस्थासँग भने, ‘म पनि सहभागी थिएँ, तर मुख्य आयोजक हामी होइनौँ, जिससले आयोजना गरेको कार्यक्रम हो त्यो ।’
त्यसपछि जिसस प्रमुख बालकृष्ण श्रेष्ठलाई सम्पर्क गरेर जनआस्थाले सोधेको थियो, ‘आफ्नै पार्टीको मान्छे भएर बोलाउनुभएको हो ?’ जवाफमा उनले भने, ‘उहाँले आफै आउछु भनेपछि मैले नाइ भन्न सकिन ।’
उक्त कार्यक्रमको लागि शुरुमा माओवादी सांसद सापकोटालाई नै निमन्त्रण गरिएको पनि श्रेष्ठले जानकारी दिए । ‘हामीले सुरुमा त सुवोध सरलाई पत्र पठाएका थियौँ, तर उहाँ आउनुभएन’, श्रेष्ठले भने, ‘उहाँ (बस्नेत) चाहिँ घरमै हुनु हुँदोरहेछ, नजिक पर्ने भएकाले म आउछु भन्नुभयो, मैले नाइ भन्न सकिनँ, तर उहाँलाई पत्र काटेर बोलाएको चाहिँ होइन ।’
टिप्पणीहरू