प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने

प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र आफूलाई पनि गर्न नदिने नारा आज पनि दोहोर्याउनुभएको छ ।

भ्रष्टाचार अन्त्य गर्ने राष्ट्रिय संकल्पप्रति सरकार दृढ र प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । आज प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आरोप लाग्नेबितिक्कै अनुसन्धान गरिहाल्नुपर्छ भन्ने कुरा उचित नहुने उल्लेख गर्नुभयो ।

तीनै तहका सरकारका पदाधिकारीहरू कानूनको दायराभन्दा बाहिर नरहेको भन्दै उहाँले आर्थिक अनियमितता देखिएमा कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढ्ने स्पष्ट पार्नुभयो । केही मान्छेले प्रधानमन्त्रीको आलोचना गर्ने फेसन नै बनाएको दाबी गर्दै ओलीले हल्ला गरेकै भरमा छानविन नहुने बताउनुभयो ।

‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी हामी सबै दृढ र प्रतिबद्ध छौं । यद्यपि केही मान्छेहरुको फेसन हुने गर्छ  प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाइ नहुने । तिनीहरु कहिले पशुपतिमा पित्तल चलायो भनेर हल्ला गर्छन् । अहिले पनि छानविन होस् भनेर कराउँछन् । त्यस्ता कुराहरुमा म वास्ता पनि गर्दिन चित्त पनि दुखाउँदिन । कसैको व्यवहारको कुरामा म धेरै गइरहन चाहन्न । तीनै तहको सरकारमा रहेका कुनैपनि व्यक्तिहरु कानूनको दायराभन्दा बाहिर छैनन् । कँही कतै आर्थिक बिचलन र अनुचित व्यवहार देखिएमा कानून बमोजिम कारबाही भइरहेको छ र हुनेछ’, उहाँले भन्नुभयो । 

भ्रष्टाचारमा संलग्नहरुमाथि सरकार असहिष्णुका साथ आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने दाबी प्रमले गरे पनि उहाँकै क्याविनेटका सदस्यहरूमाथि घुस बार्गेनिङ्ग गरेको आरोप लागिरहेको छ ।

टिप्पणीहरू