एनसेल करोडपति पार्वतीको योजना- श्रीमानलाई बोलाएर देशमै उद्यम गर्ने
कडा परिश्रमले एक दिन प्रतिफल पाउँछ भन्ने विश्वासलाई धादिङको गंगाजमुना गाउँपालिका–६ बांगेपिपलकी पार्वती कार्की आफ्नो हृदय नजिक राख्छिन् । शुक्रबार उनको त्यो विश्वास वास्तविकतामा परिणत भयो ।
विनम्र तर दृढ पार्वती एनसेलको ‘सँधै अन करोडपति’ योजनाको विजेता घोषणा भइन् । अत्यन्त खुशी र अविश्वासका साथ उनले काठमाडौंको लैनचौरस्थित एनसेल आइकनमा आयोजित एक समारोहमा एक करोड नगद पुरस्कार प्राप्त गरिन् ।
असार १ गतेदेखि ३२ गतेसम्म चलेको यो योजनाअन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यका सेवा खरिद गर्ने ग्राहकलाई करोडपति बन्ने अवसर दिइएको थियो । सोहीअन्तर्गत तेस्रो साता ९९ रुपैयाँ बराबरको ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भएकी पार्वती विजेता बनिन् ।
उनले आठ वर्षअघि एनसेलको सिम लिएकी थिइन् । २०७२ सालको महाभूकम्पले उनको जीवन चकनापुर बनाएको थियो । आफ्नो एक महिने छोरा गुमाइन् । नवनिर्मित घर पनि भूकम्पले भत्कायो ।
‘हामीले बनाएका र सपना देखेक सबै कुरा एकै क्षणमा ढल्यो,’ पुरस्कार समारोहमा उनले सम्झिन् । अन्य कुनै विकल्प नभएपछि आफन्तसँग ऋण लिएर उनका बिरामी श्रीमान वैदेशिक रोजगारीमा बहराइन गए भने छोरा काठमाडौंमा प्लस टु पढिरहेका छन् ।
‘हामी अझै पनि त्यो ऋण तिरिरहेका छौं । श्रीमानको स्वास्थ्य अवस्था पनि राम्रो छैन,’ पार्वतीले भनिन् । दुर्घटनाबाट विजयसम्मको उनको यो यात्रा आशाको शक्तिशाली सम्झनासमेत हो ।
‘मैले जीवनमा धेरै संघर्ष गरेकी छु तर कहिल्यै हार मानिँन र कहिल्यै विश्वास गर्न छोडिँन,’ पुरस्कार प्राप्त गर्दै उनले भनिन्, ‘यो पुरस्कार ती सबै वर्षमा मैले भोगेको दुःख, पीडा र संघर्षको लागिजस्तो लाग्छ । यसका लागि एनसेल परिवारप्रति म निकै आभारी छु ।’
पुरस्कार रकमले श्रीमानलाई स्वदेश फर्काइ मिलेर व्यवसाय गर्ने र छोराको भविष्यमा लगानी गर्ने लक्ष्य उनले सुनाइन् । ‘श्रीमान विदेश जाँदाको र अरु ऋण बाँकी छ । अब ऋण तिर्नका लागि घोटिनुपरेन । नेपालमै श्रीमान–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ । छोराको शिक्षामा लगानी गछौं,’ पार्वती भन्छिन् ।
एनसेलले ल्याएको उक्त योजनामा पार्वतीले बम्पर नगद पुरस्कार जित्दा अन्य ५० जना भाग्यशाली ग्राहकले साप्ताहिक पुरस्कारस्वरुप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।
पहिला १२ हप्ताका लागि भनेर एनसेलले ल्याएको यो योजना नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनबमोजिम साउन १ गतेबाट बन्द भएको हो ।
टिप्पणीहरू