मोरङमा नेकपाका उम्मेदवार धमाधम सिफारिस
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मोरङले केन्द्रको सर्कुलरपछि पहिलो पटक आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार पूर्वमन्त्री अमनलाल मोदीलाई मोरङ क्षेत्र नम्बर ४ र ६ बाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
उनले २०७४ को निर्वाचनमा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए भने २०७९ को निर्वाचनमा एमालेका विनोद ढकाल उनीसँग पराजित भएका हुन् । तीन पटक सांसद तथा एक पटक मन्त्री भइसकेका मोदी मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत डंग्राहा निवासी हुन्।
मोरङ क्षेत्र नम्बर ५ बाट पूर्वमन्त्री शिवकुमार मण्डललाई प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरिएको छ। चार पटक सांसद तथा एक पटक मन्त्री भइसकेका मण्डल गत निर्वाचनमा सोही क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलसँग पराजित भएका थिए ।
मोरङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ पूर्व सांसद तथा नेकपाका केन्द्रीय नेता सावित्रीकुमार काफ्ले सिफारिस भएका छन्।

यस्तो छ क्षेत्रगत सिफारिस :
मोरङ–१
प्रत्यक्षतर्फ कुलप्रसाद साम्बा लिम्बु, उपेन्द्र घिमिरे, रुपेश खतिवडा, कल्पना राईसहित ९ जना र समानुपातिकतर्फ प्रेम मिभक, बलबहादुर घिसिङ, दिनेश परियार, ममता राजवंशीलगायत ६ जना ।
मोरङ–२
प्रत्यक्षतर्फ प्रकाश पौडेल, चन्द्रवीर राई, राजेन्द्र मण्डलसहित ६ जना र समानुपातिकतर्फ अर्जुन ऋषिदेव, तारा ओझा, कुल्लु राजवंशीलगायत १० जना ।
मोरङ–३
प्रत्यक्षतर्फ सावित्रीकुमार काफले, देउमान तुम्वाहाम्फे, चन्द्र गुरुङ तथा समानुपातिकतर्फ अरुण सुन्दास, सुषिला घिमिरे, अमृत सुब्बालगायत ६ जना ।
मोरङ–४
प्रत्यक्षतर्फ अमनलाल मोदी (एकल सिफारिस) र समानुपातिकतर्फ पञ्चु पासवान, डा. मेदनी सेढाई, पक्कुला थारुसहित १० जना ।
मोरङ–५
प्रत्यक्षतर्फ शिवकुमार मण्डल (एकल सिफारिस) र समानुपातिकतर्फ भोगेन्द्र यादव ।
मोरङ–६
प्रत्यक्षतर्फ अमनलाल मोदी, जीवन आचार्य, वसिम आलमसहित १० जना र समानुपातिकतर्फ सुषिला घिमिरे, सीता कडरिया, लक्ष्मी न्यौपाने, कपिल सुनारसहित ११ जना सिफारिसमा परेका छन् ।
टिप्पणीहरू