अखिलमा डाक्टरभन्दा धामी आगो

अखिलमा डाक्टरभन्दा धामी आगो

एमाले भ्रातृसंगठन अनेरास्ववियुको महाधिवेशन गत जेठको अन्तिम साता काठमाडौँमा सम्पन्न भई २ सातापछि अर्थात असार (१४–१६) सचिवालय बैठक काभ्रेको धुलिखेलमा बस्यो । असार १४ गते नै पूर्वराष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सभागृहबाट पुनः राजनीतिमा फर्कने घोषणा गर्दा अखिल पदाधिकारी तथा नेताहरू उक्त कार्यक्रममा जान्छन् भनेर सोही दिन बैठक धुलिखेलमा राखिएको बताइन्छ । सचिवालय बैठकलाई एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवालीलगायतले प्रशिक्षणसमेत दिएका थिए । सो बैठकले कार्य विभाजन भने गरेन ।

एउटै समूहबाट जितेर २ खेमा

अध्यक्ष डाक्टर सुजन कडरियालाई दह्रो साथ दिनेमा सर्वाधिक मत ल्याएर विजयी भएका आकाश घर्ती मगर छन् । एक पदाधिकारीका अनुसार निर्वाचन लड्दा एउटै टिम जस्तो देखिएको भए पनि अध्यक्ष र महासचिवको रसायन नमिली कुनै टिम तयार भएको थियो । अडिटोरियम हल बाहिर सुपको (सुदूरपश्चिम) भेला गरेर सुजनलाई भोट अपिल नगरिएको भए र त्यताका आफूनिकट प्रतिनिधिलाई दीपकले यसो आँखा मात्र झिम्क्याएको भए, आज डाक्टर अध्यक्ष नै हुने थिएनन् ।

महासचिव दीपक धामीलाई २ उपाध्यक्ष, ३ सचिव र ३ आयोगका अध्यक्षले साथ दिएका छन् । नीति, अनुसन्धान तथा योजनाका उपाध्यक्ष योगेश बमलेसमेत दीपकलाई साथ दिएका छन् । उनीनिकटका अनुसार, बाहिरी रूपमा अध्यक्षलाई साथ दिए पनि आफ्नै ठाउँ, भूगोलको नेतालाई छाड्न सकिन्छ र !

एक मात्र उपमहासचिव(पुलिस कुटेको आरोपमा अदालतमा तारिख धाइरहेका) कलम जोशी भने कतै खुलेका छैनन् । उनी ऐन महर निकट हुन् । अहिले अखिलमा ऐन महरका एक मात्र मान्छे भनेका कमल जोशी हुन् ।

२०८४ को जोडघटाउ शुरु

२०८४ को अखिल महाधिवेशन निम्ति अहिलेदेखि नै जोडघटाउ शुरु भैसकेको छ । उपाध्यक्ष ई. विकास श्रेष्ठ र उपमहासचिव कमल जोशी मात्र ३२ वर्षमुनि रहने भएकाले त्यहीअनुरूप विभिन्न कमिटीको इञ्चार्ज बनाउन शुरु गरिएको छ । विकास र कमल दुबैको जन्म मिति २०५३ साल हो ।

कार्यविभाजन कताकता गुटबन्दी शुरु

केन्द्रीय कमिटी र सचिवालयको बैठक एक–एक पटक तथा पदाधिकारीको बैठक ३ पटक बसिसक्दासमेत अहिलेसम्म सचिवालयको कार्यविभाजन हुन सकेको छैनन् । विशेष गरी बागमती प्रदेश इञ्चार्र्ज, संगठनप्रवक्ता तथा विभिन्न विश्वविद्यालयको इञ्चार्र्जमा कुरा नमिल्दा कार्यविभाजन रोकिएको अध्यक्ष निकटले जानकारी दिए । प्रचार सचिवले नै प्रवक्ता मागेका छन्, तर प्रवक्तामा आकाश घर्ती इच्छुक देखिन्छन् । उता बागमती प्रदेशको इञ्चार्र्जमा अखिल अध्यक्ष सुजन कडरियाले मेरो प्रदेश हो, बरु सुदूर पश्चिममा जो बनाए पनि चासो नराख्ने भन्दै अड्डी कसिरहेका छन् । अध्यक्षले भुवन मैनालीलाई र महासचिवले नितेश लामिछानेलाई बागमती इञ्चार्ज बनाउन खोजेका छन् । यी दुबै मकवानपुरका हुन् ।

‘ऐन महरनिकट एक कार्यकर्ताका अनुसार इञ्चार्ज किशोरविक्रम मल्लको अखिलमा अहिले दोश्रो कार्यकाल हो । पहिलो कार्यकालमा (२०७०)दीपक गौतम, थोमस बाँस्तोला (हाल अमेरिका), नबिना लामा, रश्मी आचार्य, ऐन महर, महेश बर्तौला, सुदेश पराजुलीजस्ता हेभिवेट र बौद्धिकसँग मल्लले बल्लतल्ल कमिटी चलाएका थिए । अहिले त सबै केटाकेटी, अझ आफ्नै छोराछोरी उमेरका । उनले महासचिव दीपक धामीबाहेक अरुलाई सिधै हप्काएर बोलाउँछन् ।

सचिव भन्छन्, म सक्काइदिन सक्छु

अखिलमा नयाँ नेतृत्व आएपछि कायापलट भन्ने भाष्य निर्माण गरिएको थियो । अधिवेशन सकिएको २ महिना बित्दा÷नबित्दै सो चिजको अन्त्य भएको छ । डाक्टर र इन्जिनियरहरू आएपछि कमिटीको माहोल बन्छ भनेको २ महिना हुन लाग्दासमेत कार्यविभाजन हुन सकेको छैन भने विभिन्न जिल्ला र प्रदेशहरूमा ३२ कटेकाहरूलाई अनिवार्य रूपमा स–सम्मान बिदाइ गर्दा समेत नयाँ संयोजक तोक्न सकिएको छैन ।

यसैबीच, अखिलकी एक मात्र महिला सचिव रचना सापकोटाले सामाजिक सञ्जालमार्फत सक्काउने क्षमतासमेत राख्छु भनेकी छन् । 

टिप्पणीहरू