लुम्बिनी सरकारमाथि ‘उल्लु बनाएको’लफडा
लुम्बिनी प्रदेश सरकारले ‘घुम्न जाऔं लुम्बिनी–२०२५’ अभियान सञ्चालन गरेको झण्डै एक वर्ष हुन लागेको छ । पर्यटकको आगमन बढाउनका लागि प्रदेश सरकारले गत पुस ४ गते सात वटै प्रदेशका पर्यटनमन्त्री र सचिव बोलाएर बर्दियाको ठाकुरद्धारामा भव्य कार्यक्रम आयोजना गरेर अभियानको उद्घाटन गरेको थियो ।
प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटनका क्रममा अभियानले बर्दिया राष्ट्रिय निकुञ्ज र सो क्षेत्रका पर्यटन, होटल व्यवसायीसँगै समुदायको आयआर्जनमा ठूलो परिवर्तन ल्याउने दाबी गरेका थिए । प्रदेशको पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन विकास परिषद्मार्फत सञ्चालित अभियानमा ठाकुरबाबा नगरपालिकाले समेत सहकार्यको हात अगाडि बढायो ।
अभियान घोषणा गरेपछि प्रदेश सरकार गायव भएको भन्दै होटल व्यवसायी र पर्यटक व्यवसायीहरु रुष्ट बनेका छन् । सरकारले आफूहरुलाई ‘उल्लु बनाएको’ उनीहरुको आरोप छ । ‘अभियानको आठ महिना बितिसक्दासमेत सरकार देखिएको छैन । अभियान घोषणा गरेपछि सरकार बेपत्ता भएको छ’,उनले भने ।
आन्तरिक र बाह्य पर्यटक भित्र्याउने अभियानका रुपमा चित्रण गरिएको कार्यक्रम पूर्ण रुपमा असफल बनेको व्यवसायीको आरोप छ । होटल संघ नेपाल, बर्दियाका अध्यक्ष मोहन चौधरीले लुम्बिनी पर्यटन विकास परिषद् र सरकारले बर्दियाको नाम बेचेको तर काम नगरेको बताए । उनले भने,‘बर्दियाको पटकपटक नाम बेचे । तर, देखिनेगरी एउटा पनि काम गरेका छैनन् ।’
सरकारले व्यवसायीहरुलाई बेवकुफ बनाएको आरोप उनको छ । उनका अनुसार हाल ठाकुरद्धारामा रहेको ३४ वटा होटल तथा रिर्सोटहरु ठूलो समस्यामा छन् । तर, सरकारले ती होटलहरुको संरक्षणका लागि कुनै काम नगरेको उनको गुनासो छ । भिजिट बर्दिया नाम राखेर कामचाँहि डिलिट बर्दिया गरेको अध्यक्ष चौधरीको जिकिर छ ।
निकुञ्ज वरपर रहेका होमस्टे सञ्चालकहरुले अभियानबारे सुनेको तर कुनै कार्यक्रममा सहभागी नभएको बताए । परिषद्ले बर्दियाका होमस्टेमा आयआर्जन, सुधार वा सहयोगको कुनै कार्यक्रम नगरेको डल्ला होमस्टेको सञ्चालक समितिका अध्यक्ष परशुराम चौधरी बताउँछन् ।
‘अभियानबारे त सुनेको हो तर अहिलेसम्म कुनै कार्यक्रममा सहभागी भएको छैन । पर्यटक बढे पो होमस्टे चल्छ, आयआर्जन बढ्छ । तर न पर्यटक बढे न आम्दानी । झुठ्ठो आश्वासनले पेट भोको हुने मात्र हो’,उनले भने । सरकारका निकायको घोषणा मात्र गर्ने प्रवृत्तिले पर्यटक व्यवसायमा नकारात्मक असर परिरहेको होमस्टे सञ्चालकहरु बताउँछन् । निकुञ्जसँग जोडिएका चार गाउँमा ६४ वटा होमस्टे सञ्चालनमा छ ।
सूचना केन्द्रमै ‘नो इन्टरनेट’
मुलुकको दुर्गम जिल्लामा इन्टरनेटको पहुँच पुगेको छ । तर, पर्यटकलाई लक्षितगरी सञ्चालनमा ल्याइएकाे पर्यटन सूचना केन्द्र लुम्बिनीमा इन्टरनेट छैन । पर्यटक विकास परिषद्ले प्रदेश सरकारको अधिपत्य देखाउनका लागि गत फागुनमा त्यहाँ एउटा सूचना केन्द्रको स्थापना गरेको छ । तर, अहिलेसम्म इन्टरनेट जडान गरिएको छैन ।
न आवश्यक प्रचार सामग्री, ब्रोसर र म्याप नै छ । फर्निचरको पनि अभाव छ । लुम्बिनी अखण्ड शान्ति दिपको पूर्वपट्टी रहेको माथिल्लो तल्लामा पर्ने सो सूचना केन्द्रमा गर्मीले बसिनसक्नु छ । पर्यटकहरु त्यहाँ पस्न मान्दैनन् । अरु त अरु, परिषद्का निर्देशक रामु जोशी लुम्बिनी आउँदासमेत त्यहाँ छिर्दैनन् । परिषद्ले काम गर्न नसक्दा लुम्बिनी विकास कोषले अहिलेसम्म एक जना कर्मचारी पठाएको छैन ।
टिप्पणीहरू