प्रधानमन्त्रीले आँखा चिम्लिएका छैनौँ भन्दा तीन मन्त्री मस्त निन्द्रामा
आज राष्ट्रिय सभा बैठक चलिरहँदा तीनजना मन्त्री भुसुक्कै निदाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै लहरमा बसेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई मस्तले सुतेका हुन् ।
बैठकमा सांसदहरुले ‘एलएलडिसी ग्र्याजुएशन’ (अल्पविकसित मुलुकबाट स्तरोन्नती)बारे धारण राखिरहँदा तीन मन्त्री भने निदाइरहेका थिए । उनीहरु निदाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । जनप्रतिनिधिहरुको सर्वोच्च थलो संसदलाई महत्वहीन बनाउनेगरी मन्त्रीहरु निदाएको यो घटनालाई लिएर आलोचना पनि शुरु भएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता विकास महतोले देशको भविष्य अन्धकार बनाउनेहरु सुत्दैमा कुनै फरक नपर्ने भन्दै कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘आफैँले बनाएको देशको भविष्य अन्धकार देखेर सुतेजस्तो छ ।’
अन्जन नेपालले पनि सभामै निदाउनुलाई सामान्य लापरवाही मान्न नसकिने भन्दै आक्रोश पोखेका छन् । ‘देश गम्भीर संकटमा छ, जनता महँगी, बेरोजगारी र अन्यायको पीडामा छन् तर जिम्मेवार कुर्सीमा बसेका नेताहरू संसदमै निदाइरहेका छन्’, उनको प्रतिक्रिया छ, ‘यो कुनै सामान्य लापरवाही होइन, यो जनताको आशा र विश्वास माथिको घात हो ।’
दीपक डाँगीको मत भने केही भिन्न छ । अबदेखि राष्ट्रिय सभामा रहेका कुर्सीको ठाउँमा ओछ्याउन राख्नुपर्ने उनको कटाक्षपूर्ण सुझाव छ । भनेका छन्, ‘देश चलाउनेहरू सपनामा व्यस्त छन्, जनता भने यथार्थमा संघर्ष गरिरहेका छन् । बैठक सुत्नकै लागि हो भने कुर्सी होइन ओछ्यान दिनु उपयुक्त हुँदो हो ।’
रविन लामिछानेले चाहिँ मन्त्रीहरुको सम्भावित खण्डनबारे अनुमान गरेका छन् । भन्छन्, ‘अब फेरि यी मन्त्री र उनका कार्यकर्ताले एआईबाट बनाएको फोटो हो भन्ने होलान्, हरे भगवान !’
चाखलाग्दो के छ भने, उक्त बैठकमा प्रधानमन्त्री ओलीले ‘सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय’ बनेको दाबी गर्दै ‘हामी आँखा चिम्लिएर हिँडिराख्या छैनौँ’ भनेका थिए । तर सोही बैठकमा मन्त्रीहरु आँखा चिम्लिएर मस्त निदाएपछि धिरेन्द्र शाहीले लेखेका छन्, ‘विश्वास पनि कसको गर्नु र खै, आँखा चिम्लिनौँ भन्दाभन्दै चिम्पान्जीहरु त्यही निदाएपछि...!’




टिप्पणीहरू