श्रीमतीको ठाउँमा बाबुलाई ल्याउने तयारी, बानेश्वरमा भेला जारी

श्रीमतीको ठाउँमा बाबुलाई ल्याउने तयारी, बानेश्वरमा भेला जारी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को प्रथम राष्ट्रिय भेलाको दोस्रो दिन निकै ढिलोगरी बन्दसत्र शुरु भएको छ । संरक्षक रेशमलाल चौधरीले बिलम्ब गरेपछि ११ बजेका लागि तय भएको भेला दिउँसो साढे १ बजेबाट शुरु भएको हो । 

काठमाडौँको मध्य बानेश्वरस्थित सनराइज क्याफेको हलमा अहिले भेला जारी छ । राष्ट्रिय भेला समितिका संयोजक रामलाल डंगौरा थारुको अध्यक्षतामा चलिरहेको भेलामा रेशमलाल, नेता अरुण कुमार चौधरी, महासचिव गंगा चौधरी, सांसद लालवीर चौधरीलगायतको उपस्थिति छ । 

भेलाको पहिलो दिन हिजो अध्यक्ष तथा रेशमपत्नी रञ्जिता श्रेष्ठ चौधरीलाई पार्टीबाट निकाल्ने निर्णय भएको थियो । आज त्यसलाई अनुमोदन गर्दै नयाँ अध्यक्ष चयन गरिने सम्भवना रहेको सो पार्टीका एक नेताले जनाकारी दिएका छन् । 

श्रीमान-श्रीमतीको घर झगडाको कारण किचलोमा फस्दै आएको नाउपामा पछिल्लो पटक अध्यक्ष रञ्जिता घुस काण्डमा मुछिएपछि लफडा बल्झिएको हो । आफू विवादमा परेपछि उनले राप्रपाबाट हालै प्रवेश गरेका शिव बाँस्तोलालाई कार्यवाहक तोकेकी  थिइन् । 

उक्त निर्णय विधिसम्मत नरहेको भन्दै पार्टीको अनुशासन समितिले अध्यक्षलाई निष्कासित गर्ने निर्णय गरेको थियो । त्यसपछि रेशमले बहुमत केन्द्रीय सदस्यको आडमा राष्ट्रिय भेला बोलाएका हुन् ।

अध्यक्षलाई बर्खास्त गर्ने हिजोको निर्णय आज अनुमोदन गर्ने र सोको जानकारी निर्वाचन आयोगलाई गराउने नाउपाको तयारी छ । आजै लालवीर चौधरीलाई अध्यक्ष तोक्ने सम्भावना छ भनिन्छ । उनी रेशमका बाबु हुन् ।

टिप्पणीहरू