दलितमाथि दुर्व्यवहार निरन्तर, अनुसन्धान कमजोर
नेपाली समाजमा जातीय विभेदको डढेलो अझै निभेको छैन। ‘तल्लो जात’ भन्दै दलितहरूमाथि कुटपिट, दुर्व्यवहार र अपमानजनक व्यवहार निरन्तर भइरहेका छन् । पछिल्लो समय मोरङमा दुई दलित महिलामाथि सार्वजनिक अपमान र शारीरिक आक्रमणका घटनाहरू भएका छन् । एक जनालाई रडले हिर्काइएको छ भने अर्कोलाई जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको छ।
सहकारीकर्मीमाथि अपमान
सहारा नेपाल सहकारीमा कार्यरत इलामकी सुशिला विश्वकर्मामाथि मोरङको मिक्लाजुङ–७ स्थित रचनाटारमा दुर्व्यवहार गरिएको हो। ऋणसम्बन्धी छलफलका लागि फिल्ड संयोजक रमेश राईसँग सँगै पुगेकी सुशिलालाई स्थानीय माया मगर र दुर्गा लिम्बुले जुत्ताको माला लगाई सार्वजनिक अपमान गरे। दुव्र्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
सुशिलाले दिएको जाहेरीमा अभद्र व्यवहार र साइबर अपराध दुवै उल्लेख भए पनि प्रहरीले केवल अभद्र व्यवहारअन्तर्गत मात्र मुद्दा दर्ता गरेको छ। बीस दिन बितिसक्दासमेत कसैलाई पक्राउ गरिएको छैन। उल्टै पीडक पक्षका आफन्तहरूले आफ्ना मान्छे हराएको भन्दै प्रहरीमा निवेदनसमेत दिएका छन्।
सुशिलाका अनुसार माया मगरले सहकारीबाट १ लाख ३० हजार र दुर्गा लिम्बुले २ लाख रुपैयाँ ऋण लिएका छन्। ‘मैले के गल्ती गरेँ ? म त सामान्य कर्मचारी हुँ। कानुन हातमा लिएर कसैलाई सार्वजनिक रूपमा अपमान गर्न पाइन्छ ?’ सुशिलाले आक्रोश व्यक्त गरिन्।
सहकारीमा ५० प्रतिशतभन्दा बढी महिला कर्मचारी छन्। दुव्र्यवहारपछि उनीहरू पनि फिल्डमा जान डराउन थालेको सुशिलाको भनाइ छ। उनले भनिन्, ‘लघुवित्त संस्थाहरूको आलोचना जायज होला, तर गल्ती संस्थाको भए पनि कर्मचारीमाथि यति क्रूर व्यवहार किन ?’
पीडकमाथि कारबाही नभए आत्महत्या गर्न बाध्य हुने चेतावनीसमेत उनले दिएकी छन्। दलित महिला संघ (फेडो) की कोशी प्रदेश सचिव दुर्गा नेपालीले सुशिलामाथिको दुव्र्यवहार जातीय विभेदकै कारण भएको बताइन्। उनका अनुसार पीडकमाथि कारबाहीको आश्वासन प्रशासनले दिए पनि कार्यान्वयन हुन सकेको छैन।
प्रहरीः खोजी भइरहेको छ
मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमोरियाले दलितमाथि हुने आपराधिक घटनाको गम्भीरताका लागि विशेष डेस्क गठन गरिएको बताए। उनका अनुसार अभद्र व्यवहारमा मुद्दा दर्ता भइसकेको छ र फरार अभियुक्तहरूको खोजी जारी छ।
गंगामायामाथि सांघातिक आक्रमण
मोरङको लेटाङ नगरपालिका–२ की ७६ वर्षीया गंगामाया विश्वकर्मामाथि असार १४ गते साँझ स्थानीय अग्नि नेपालले रड प्रहार गरेका थिए। असार १० गते खेत जोत्ने विषयमा जातीय व्यङ्ग्य गर्दै अपमान गरेपछि गंगामायाले प्रतिवाद गरेकी थिइन्। त्यसकै रिसमा उनलाई घरमै गएर आक्रमण गरिएको हो।
गंगामायाको टाउको, पेट र हातखुट्टामा गम्भीर चोट लागेको छ। एक महिना नोबेल अस्पताल विराटनगरमा उपचार गरिएपछि अहिले उनी काठमाडौंमा थप उपचारमा छन्। उनी अचेत अवस्थामा छन् र अर्धचेतमा बर्बराउने गरेको परिवारले जनाएको छ।
यस्तो गम्भीर घटनामा समेत आरोपी अग्नि नेपाललाई जिल्ला अदालत मोरङले ५० हजार धरौटीमा रिहा गरिदिएको छ। न्यायिक समिति सदस्यसमेत रहेकी गंगामायामाथि बारम्बार जातीय र सामाजिक अपमान हुँदै आएको थियो। प्रतिवाद गर्दा उल्टै ‘कमिनी बुढी पनि ठूली भएर जान्ने पल्टिने’ भन्दै थर्काइएको परिवारजन बताउँछन्।
अनुसन्धानमै कमजोरी
दलित अधिकारवादी संस्था नेपालका अध्यक्ष उमेश विश्वकर्माका अनुसार वर्षौंदेखि दलितमाथि भएका गम्भीर घटनामा पनि प्रहरी प्रशासन गम्भीर देखिँदैन। ‘अनुसन्धान कमजोर हुँदा अदालतबाट आरोपी छुटिरहेका छन्,’ उनी भन्छन्, ‘यसले दलित समुदायमा राज्यप्रति निराशा, आक्रोश र असुरक्षा थपिदिएको छ।’
टिप्पणीहरू