गैंडाकोटतिर बाक्लिए साइकल व्यापारीहरू

गैंडाकोटतिर बाक्लिए साइकल व्यापारीहरू

मुलुकभित्र रोजगारीको अभावका कारण नेपालीहरू धमाधम विदेशिने क्रम जारी छ । अर्कोतर्फ नेपालमा विदेशीहरूको अवैध व्यापार झन् फस्टाउँदै गएको छ । व्यापार, श्रम, सडक, गल्लीदेखि चोक, चौतारा–जताततै सीमापारिबाट भित्रिएका घुमन्ते व्यापारीको निर्बाध रजगजले त्यही अवस्थाको पुष्टि गर्छ ।

चितवनको भरतपुर महानगर क्षेत्रमा नगर प्रहरीले साइकल र ठेलामा हुने अवैध व्यापारमा कडाइ गरेपछि यस्ता व्यापारीहरू गैंडाकोटतिर सरेका हुन् । नारायणी पारि गैंडाकोट नगरपालिकाको वडा नम्बर ८ मा मात्रै हिजोआज दैनिक ४०–५० जना साइकल व्यापारी देखिन थालेको बताइन्छ ।

उनीहरूले भाँडाकुँडा, महिलाका लुगा, तन्ना–सिरानी खोल, फलफूल–तरकारी, चटपट, आइसक्रिम, आलु–प्याज–लसुनदेखि कुखुराका चल्लासम्म बोकेर गाउँ–गाउँ डुल्दै खुल्ला रुपमा व्यापार गरिरहेका छन् । तीमध्ये अधिकांश मधेसका नेपाली नागरिकझैं देखिने भारतीय हुन् ।

यस्तो व्यापारले राज्यको राजस्व गुमाएको मात्र होइन, स्थानीय व्यवसायीहरूलाई गम्भीर असर पारेको गुनासो सुनिन थालेको छ । कोठा भाडामा लिएर दर्ता गरी कर तिरेर व्यवसाय गरिरहेका स्थानीय व्यापारीहरू यस्तो करछली व्यापारबाट मर्कामा परेको बताउँछन् । गुणस्तरहीन र भन्सार छलिएको सामान पसलको तुलनामा सस्तोमा बेचिने भएकाले कतिपय अवस्थामा उपभोक्ता समेत ठगिने गरेका छन् ।

गैंडाकोट–८ का वडाध्यक्ष प्रेम सापकोटा भन्छन्, ‘हामीले ती घुमन्ते व्यापारीहरूको फोटो खिचेर रेकर्ड राख्न थालिसकेका छौं । मेरो मोबाइलमै ८०–९० जनाको फोटो छ ।’ पहिलोपटक सम्झाएर छाडिने तर दोहोरिएमा सामान जफत गरी जरिवाना गरिने निर्णय भइसकेको उनले बताए ।

स्थानीय व्यापारीको हित संरक्षणका लागि माइकिङ गरी सूचना प्रसारण भइरहेको छ । ‘विनादर्ता व्यवसाय गर्न पाइँदैन,’ वडाध्यक्ष सापकोटा भन्छन्, ‘टोल विकास संस्थाले पनि यसमा सक्रिय भूमिका खेल्नुपर्छ ।’

यसैबीच, नगरप्रमुख मदनभक्त अधिकारी भन्छन्, ‘हामीले सूचनाहरू जारी गरेका छौं, माइकिङ गरेका छौं । स्थानीय व्यवसायीहरूको गुनासो आएपछि नियन्त्रणको प्रयास गरिरहेका छौं ।’ नगर प्रहरी प्रमुख दीपक अधिकारीका अनुसार केही सामान जफत पनि भइसकेको छ ।

हाल गैंडाकोट नगरपालिकामा आठ जना नगर प्रहरी छन् । नगर प्रमुखका अनुसार नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि प्रहरी संख्या बढाइने छ । हालका अधिकृत झविन्द्र खनाल छुट्टीमा काठमाडौं गएकाले उक्त प्रक्रिया रोकिएको हो ।

नगर कार्यपालिकाको पछिल्लो निर्णय अनुसार नारायणी पुल नाकाबाट प्रवेश गर्ने साइकल–ठेला व्यवस्थापन गर्न वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटालाई जिम्मेवारी दिइएको छ ।

स्थानीयबासीलाई अपिल

वडाध्यक्ष र नगरप्रमुख दुवैले अवैध ठेला व्यापारीहरूबाट सामान नकिन्न र यस्ता व्यापारलाई निरुत्साहित गर्न अपिल गरेका छन् । ‘ठेला व्यापारीका लागि सातै दिन हाटबजार सञ्चालित छ,’ सापकोटा भन्छन्, ‘तर कोही पनि विधिको पालना नगरी सडकमा सामान बेच्दै हिँड्ने हो भने नियन्त्रण गर्न हामी बाध्य हुनेछौं ।’

टिप्पणीहरू