रोकिएन पसल अगाडि नै पार्किङ गर्ने प्रवृत्ति
चितवनको भरतपुर-नारायणगढ मुख्य बजारक्षेत्रमा सडक किनारमै सवारी पार्किङ गर्ने प्रवृत्ति झन बढेको छ । नयाँ बनेको सिक्सलेन सडकमा समेत सडक छेउमै पार्किङ भइरहेको अवस्था छ । भरतपुर महानगरपालिकाले पुल्चोक र लायन्सचोकमा पार्किङस्थल सञ्चालनमा ल्याएको भएपनि सडक क्षेत्रमा पार्किङ हट्न सकेको छैन ।
दुईतिर निःशुल्क पार्किङस्थलको व्यवस्था गरी बिहान नगर प्रहरीले सर्भिसलेनबाट पार्किङ हटाएपनि दिउँसो उस्तै लाम लाग्ने गर्छ । आज पनि दुवैतिर सर्भिसलेनमा गाडीहरू टन्नै थिए । मिलनरोड, मेनरोड र अन्य भित्री बाटाहरुमा पनि सडक क्षेत्रमै पार्किङ हुँदै आएको अवस्था हो ।
अहिले ६ लेनको फराकिलो सडक बनेपनि सर्भिसलेनलाई सुरुदेखि नै पार्किङस्थल जसरी प्रयोग गरिँदा मापदण्ड अनुरुप प्रयोगमा आउँन सकेन ।
यसअघि अझ भद्रगोल थियो– एउटा सर्भिसलेनको पनि दुईतिर (पसल र नाली दुवैतिर) टम्म मोटरसाईकल, कार र अटोहरु पार्क गरिँदा एकतर्फी गाडी गुड्न पनि बाधा हुन्थ्यो । दुई हप्ताअघि महानगर प्रहरीले ट्राफिक तथा नेपाल प्रहरी समेतको सहयोगमा पसलपट्टिमात्रै पार्किङको लागि मार्किङ गरेर अर्काे व्यवस्था नहुन्जेल दुवैतर्फ सर्भिसलेनहरुमा एक लहरमात्रै मोटरसाईकल र कार राख्न दिएको हो ।

तर, अहिले पुलचोक र लायन्सचोकमा दुईतिर खुला पार्किङको व्यवस्था भइसक्दा समेत सवारी साधन पसलअगाडि नै लगेर तेस्र्याउने आमबानी हटेको छैन ।
व्यवस्थित रुपमा वान वे सञ्चालनका लागि सर्भिसलेन पूर्ण खालि गराउने प्रयत्न हो । १०–१२ दिनअघि नगर प्रहरी प्रमुख डीएसपी कृष्णहरि ढकाल जेसिबीसहित आफैं खटिएर नारायणी नदी किनारको पुल्चोकबाट वडा प्रहरी कार्यालय जाने बाटोछेउ रहेको सार्वजनिक जग्गामा झाडी फाँडेर सम्याइएको छ ।
निःशुल्क पार्किङस्थल भनेर दुईतिर बोर्ड टाँगिएको पनि छ । सर्भिसलेनमा यात्रु चढाउने र ओरोल्ने प्रयोजनका लागि भनेर एकतर्फी बाटोको ट्राफिक संकेत पनि राखिएको छ ।
अब सर्भिसलेनमा पार्किङ नगर्न र गरेमा कानुनी प्रक्रियाअनुसार दण्ड जरिवाना गरिने भन्दै बजारभरि माइकिङसमेत गरिएको छ । बाहिरबाट आउनेहरुले यो सूचना र माइकिङ नसुनेका पनि हुन सक्छन् ।
बजारकै पसलवालाहरुले ग्राहकलाई नयाँ पार्किङस्थलबारे भनिदिनुपर्ने होइन ? पुल्चोकतर्फ अहिले केही भाडाका सवारी साधनचाहिँ पार्किङ हुन थालेका छन् । बजार आउने निजी मोटरसाईकल र कार भने सर्भिसलेन र अन्य सडकक्षेत्रमै राखिएको देखिन्छ ।
लायन्सचोकमा महानगरपालिकाले नै बहुउद्देश्यीय व्यापारिक भवन बनाउने भनेको जग्गामा अहिले तत्काल भवनको टेण्डर भइनसकेको अवस्थामा पार्किङ बनाइएको हो । यहाँ भने केही मोटरसाईकल र कारहरु फाट्टफुट्ट रुपमा पार्किङ हुन थालेका छन् । तर निःशुल्क पार्किङस्थलमा रेखदेख गर्ने कोही नहुँदा सवारीसाधन हराएमा को जिम्मेवारी हुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।
हिजो लायन्सचोकको पार्किङस्थल अगाडि एकजना नगरप्रहरी देखिएपनि आज कोही थिएनन् । यहाँ पार्किङस्थलको बीच भागतिर वर्षाको पानी जम्ने समस्यासमेत देखिएको छ । जेहोस्, छोटो दूरी छ भने हिँडेर जाने बानी बसाल्न सडक र सवारीसाधन प्रयोगकर्तालाई जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माको अनुरोध छ ।
नारायणगढ, भरतपुरमा आकाशे पुल त छैन, पैदलयात्रीले पनि जेब्राक्रसिङ भएका ठाउँबाट मात्रै बाटो काट्नुपर्ने, सडकपेटीबाट मात्रै हिँड्नुपर्ने सामान्य नियमसमेत कतिले ख्याल गरेको देखिन्न । चितवनमा साना सवारी साधनको संख्या धेरै नै भएको भन्दै ठूला सार्वजनिक बस सञ्चालन गर्न अत्यावश्यक देखिएको ट्राफिक प्रहरी निरीक्षक बताउँछन् ।
भरतपुर बजारको मुख्य रिङगरोडमा समेत साना म्याजिक र अटोमात्रै चल्दा यात्रुहरु अझै कोचिएरै यात्रा गर्न बाध्य छन् भने विद्यार्थीलगायतले पाउनुपर्ने छुट सुविधा पनि अहिलेसम्म पाउन सकेका छैनन् । अहिले सवारी प्रयोगकर्ताको बानी पार्न तत्काल शुल्क नलिएपनि पछि सःशुल्क रुपमा पार्किङस्थलहरु अझ व्यवस्थित बनाइने महानगरपालिकाले बताएको छ ।
नारायणगढ र भरतपुरका अन्य विभिन्न स्थानमा संस्थागत र व्यक्तिगत जग्गा पनि पार्किङ प्रयोजनमा उपयोग गर्न लागिएको महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले बताएका छन् । फोहोरसमेत ठेक्कामा लगाएर आम्दानी गरिरहेको महानगरपालिकाले अब पार्किङ पनि ठेक्कामै दिने बुझिन्छ ।
चौबीसकोठीमा रहेको राष्ट्रिय वाणिज्य बैंकको जग्गा, जिससको स्वामित्वमा रहेको गेष्ट हाउसचौरको केही भाग, जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि खाली रहेको मालपोत कार्यालयको जमिन र क्याम्पाचौरको केही क्षेत्र पार्किङ प्रयोजनमा ल्याउन ती संस्थासँग समन्वय गर्न लागिएको उपमेयर अधिकारीले केही दिनअघि जनआस्थालाई बताएका थिए ।
व्यक्तिगत जग्गा भाडामा वा व्यक्ति स्वयम्ले नै पार्किङस्थल सञ्चालन गर्नेगरी चलाउन लागिएको र केहीको निवेदनसमेत आइसकेको जनाइएको छ ।
टिप्पणीहरू