लिङ्देनलाई गल्ती सच्याउन सुझाव
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई गल्ती सच्याउन ध्यानाकर्षण गराएका छन् । उनले एक पत्र पठाउँदै पार्टी विधानको व्यवस्था एंव प्रजातान्त्रिक मान्यता पालना गरी आफ्नो गल्ती सच्याउन आग्रह गरेका हुन् । तत्काल कार्यसम्पादन समितिको बैठक बोलाउन पनि उनको माग छ ।
प्रथमतः पार्टी नेतृत्वले पार्टी हित विपरित विधान मिचेर स्वेच्छाचारी रूपमा पार्टीका नेताहरुलाई कारवाही र निष्कासन गरेको राणाको निष्कर्ष छ । त्यस्तै नेतृत्वको स्वकीय सचिव (छत्र कठायत)जस्तो जिम्मेवार व्यक्तिले प्रदेश सभाको उम्मेद्वार भइसकेको नेता (राजु गैरे)माथि आक्रमण गर्नु दुखद र निन्दीय रहेको राणाले बताएका छन् ।
त्यस्तै, उनले जिल्ला तहको अधिवेशनमा अध्यक्ष लिङ्देनले आफूखुशी पर्यवेक्षक खटाएका आरोप समेत लगाएका छन् । उनले भनेका छन्, ‘जिल्ला तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरू खटाउने र नामावली सल्लाह बमोजिम तय गर्ने सैद्धान्तिक सहमति भएकोमा पार्टीमा यो निर्णय लागू गर्न कार्यसम्पादन समितिमा कुनै छलफल र सल्लाह नगरी एकलौटी किसीमले नामहरू तोकिएको छ, जो हाल भइरहेको ज्यादतीको पछिल्लो उदाहरण हो।’
नेतृत्वको कार्यशैलीको कारण पार्टीका कार्यकर्ताहरु चिन्तित सशंकित बनेको पनि पत्रमा उल्लेख छ । राणाले थप भनेका छन्, ‘निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्दछ भन्ने विषयमा हामी विश्वास राख्दछौं तर पछिल्लो निर्णयहरूबाट देशभरिका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित छन्।’
टिप्पणीहरू