यता न्याय परिषद् बैठक, उता बारको चेतावनी

यता न्याय परिषद् बैठक, उता बारको चेतावनी

उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी भइरहँदा बेला नेपाल बार एशोसिएसनले न्याय परिषद् नियमावली, २०७४ को पहिलो संशोधन खारेज गर्न चेतावनीसहित ध्यानाकर्षण गराएको छ । वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र नेतृत्वको बारले प्रधानन्यायाधीशको अध्यक्षतामा रहेको न्याय परिषद्लाई उक्त चेतावनीसहित आज ध्यानाकर्षण गराएको हो ।

बारका तर्फबाट महासचिव केदारप्रसाद कोइरालाले साँझ जारी गरेको विज्ञप्तिमा न्याय परिषद् नियमावलीको संशोधनले न्यायाधीश नियुक्ति प्रक्रियामा विभेद रहेको र उक्त व्यवस्था संविधानविपरीत रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिका स्वतन्त्र, सक्षम र निष्पक्ष हुन न्यायाधीश नियुक्ति प्रक्रिया स्वच्छ र पारदर्शी हुनुपर्छ । पद रिक्त हुनुभन्दा एक महिनाअघि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि परिषद्ले त्यसलाई आफ्नो इच्छाअनुसार प्रयोग गरेको छ।’

प्रधानन्यायाधीश नेतृत्वको परिषद्लाई संविधानको पालना गर्न सुझाव दिइएको छ । न्याय परिषद् नियमावली, २०७४ मा गरिएको पहिलो संशोधनले लामो समयदेखि सेवा गरेका न्यायाधीशहरूको वरीयता तोडिएको भन्दै तुरुन्त खारेजीका लागि आग्रह गरिएको छ । ‘यो संशोधन फिर्ता नभएसम्म कुनै पनि तहमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाइयोस्,’ ध्यानाकर्षणमा भनिएको छ ।

बारले सर्वोच्च र उच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा कम्तीमा ५० प्रतिशत कानुन व्यवसायीबाट प्रतिनिधित्व हुने गरी निष्पक्ष नियुक्तिको मागसमेत गरेको छ । न्यायाधीश नियुक्ति प्रक्रियामा वरिष्ठता, अनुभव, विषयगत ज्ञान, कार्यकुशलता, इमानदारी, निष्पक्षता, पेशागत निष्ठा तथा नैतिक आचरणलाई आधार बनाउनुपर्ने माग गर्दै सरुवाका क्रममा पनि निष्पक्षता अपनाइनु पर्ने बारको धारणा छ ।

विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ, ‘उल्लिखित सरोकारहरू बेवास्ता गर्दै न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाइएमा नेपाल बार एशोसिएसन न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको रक्षार्थ तथा जनआस्था अभिवृद्धिका लागि शुद्धिकरण र सुदृढीकरण अभियानमा कठोर कार्यक्रम निर्धारण गर्दै अविचलित रूपमा अघि बढ्नेछ । त्यसका लागि सम्पूर्ण कानुनव्यवसायी, नागरिक समाज तथा सञ्चार जगतसँग ऐक्यबद्धताको अपिल गर्दछौं ।’

टिप्पणीहरू