बसपार्कभित्रै इभी चार्जको मूल्य घटबढ
एकै खालका विद्युतीय गाडीको चार्जिङ रेट फरक-फरक भएको गुनासो सुनिन थालेको छ । चितवनको भरतपुर बसपार्कमा रहेको सरकारी चार्जिङ स्टेशनभन्दा निजीमा झण्डै ५० प्रतिशत बढी शुल्क तिर्नुपर्ने अवस्था छ ।
बसपार्कभित्र एकैलहर चारवटा चार्जिङ प्यानल भएको स्टेशन सरकारी हो । प्रत्येक प्यानलमा दुईवटा गनका दरले एकपटकमा आठ वटासम्म गाडी चार्ज गर्न मिल्छ । नजिकै अर्को दुईतिर चार्जिङ युनिट रहेको निजि स्वामित्वको स्टेशन छ । सरकारीमा प्रतियुनिट झण्डै १०, ११ रुपैयाँ शुल्क रहेकोमा प्राइभेट स्टेशनमा युनिटको १५ रुपैयाँ लिने गरेको बुझिन्छ ।
रातको समयमा चार्ज गर्दा सरकारीमा आठ रुपैयाँमात्र लाग्ने एक गाडीचालकले बताए । एउटा ५३ किलोवाटको विद्युतीय गाडी चार्ज हुन करिब एक घन्टा लाग्ने बताइन्छ । समयको खर्च भएपनि इन्धन लागतका हिसाबले विद्युतीय गाडी सस्तो हो तर पार्टपुर्जा महँगो छ ।
५७ लाखमा किनेको इभी कार देखाउँदै हिजो साँझ भरतपुर बसपार्कमा चार्ज गर्न आएका एक व्यक्तिले यस्तै डिजेल गाडीको मोल डेढ करोडसम्म पर्न जाने बताए । तर, विद्युतीय गाडीको ब्याट्री निकै महँगो रहेको भन्दै उनले सुनाए, ‘दुईवटा ब्याट्री किन्ने पैसाले एउटा गाडी नै आउँछ ।’
करिब ५० लाख पर्ने विद्युतीय गाडीको ब्याट्रीलाई २५ लाख हाराहारी पर्नजाने व्यवसायी बताउँछन् । डिजेल सुमो जीपको बेरिङको २५ सय पर्छ भने इभी भ्यानको लागि साढे छ हजारसम्म हालेको सुमो चालकले जानकारी दिए ।
विद्युतीय सवारी साधनहरु बढी नै दुर्घटनामा पर्ने गरेको स्थिति पनि देखिन थालेको छ । पानी परेका बेला इभी गाडी निकै जोखिमपूर्ण रहेको यातायात क्षेत्रका मानिस बताउँछन् ।
चार्जिङ स्टेशन भरतपुर बसपार्कछेउमा बाहिर अर्काे पनि प्राइभेट छ । यहाँचाहिँ पर्सेन्टको आधारमा शुल्क लिने गरिन्छ । बसपार्कभित्र सार्वजनिक स्टेशनमा प्रतिपर्सेन्ट चार रुपैयाँ चार्ज लिँदा अगाडिकै शोरुमवालाले चलाएको भनिएको उक्त बाहिरको स्टेशनमा एक पर्सेन्ट चार्जको गाडी हेरी छ देखि आठ रुपयाँसम्म लिइने बताइएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर अन्तर्गतका क्षेत्रमा यस्ता चार्जिङ स्टेशन २० वटाजति रहेको जनाइएको छ । तर सार्वजनिक भनेको चाहिँ भरतपुर बसपार्क र अर्काे एउटा मुग्लिङमा छ ।
जे पनि सार्वजनिक भन्दा निजीमा महँगो हुनैपर्ने हो ? हाइवेबाट भित्र र ग्रामीण इलाकाहरुमा अझ बढी शुल्क लिइने गाडीका स्टाफ बताउँछन् । जबकि सरकारी नियमअनुसार २० प्रतिशतसम्म व्यवसायीले मार्जिन राख्न पाउँछन् ।
तर, अर्काेतिर प्राइभेटको सेवाबाट सुविधा पनि भइरहेको गाडीवालाहरूको भनाइ छ । हिजो साँझ सात बजेतिर लाइन गएको थिएन, तर बसपार्कको सार्वजनिक चार्जिङ स्टेशनमा भोल्टेज कम भएर चार्ज हुनै मुस्किल भइरहेको त्यहाँ भएकाहरु बताउँदै थिए ।
पालो कुरिरहेका एक गाडी धनीको गुनासो रह्यो, ‘म काठमाडौंबाट आएको हुँ । पोखरा जानुछ । अब यहाँ भएन भने त्यही प्राइभेटमै गएर त चार्ज गर्ने हो ।’ गाडीको क्यू रहेको अवस्थामा पालो कुरीबस्नु भन्दा प्राइभेटमा गएर चार्ज गर्न सजिलो भइरहेको उनले बताए ।
टिप्पणीहरू