प्रहरी कर्मचारीलाई कर्जा : घर बनाउन, छोराछोरी पढाउन
नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीले पाउने सेवासुविधा स्पष्ट पारेको छ। मुख्यालयले मातहतका एक दर्जनभन्दा बढी कार्यालयलाई पत्राचार गर्दै सबै प्रहरी कर्मचारीलाई प्रहरी नियमावली र प्रहरी कल्याण कोषका अतिरिक्त प्राप्त सेवासुविधाबारे जानकारी गराउन निर्देशन दिएको छ।
मुख्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, निर्देशनालय, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, अपराध अनुसन्धान विद्यालय, युक्ति तालिम महाविद्यालय, विपद् व्यवस्थापन कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, केनाईन कार्यालय, केन्द्रीय विशेष कार्यदल, प्रधानमन्त्री विशेष सुरक्षा इकाई, प्रहरी संगीत विद्यालय, नेपाल प्रहरी विद्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सबै प्रहरी प्रदेश कार्यालयलाई हिजो एक पत्र पठाएको छ।
जसमा भनिएको छ, ‘प्रहरी नियमावली र प्रहरी कल्याण कोषमा उल्लिखित सेवासुविधाका अतिरिक्त प्रहरी कर्मचारीहरूले कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, राष्ट्रिय बीमा कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबाट पाउने निम्नानुसारका सेवासुविधाबारे जानकारी गराउनु–गराउन हुन निर्देशनानुसार अनुरोध गरिएको छ।’
प्रहरी कर्मचारीले सञ्चयकोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घरमर्मत सापटी, जग्गा खरिद सापटी, सुत्केरी तथा शिशु स्याहार योजना, काजकिरिया अनुदान योजना, दुर्घटना क्षतिपूर्ति योजना, स्वास्थ्य उपचार योजनालगायतका सुविधा प्राप्त गर्दै आएका छन्।
विशेष सापटीअन्तर्गत नियमित रूपमा दुई वर्षदेखि कोष कट्टी गरेको सञ्चयकर्ताको जम्मा भएको कोष रकमको ९० प्रतिशतसम्म सापटीको रूपमा प्रयोग गर्न सकिने व्यवस्था छ। त्यसैगरी, घर सापटीअन्तर्गत प्रहरी कर्मचारीले एक करोड रुपैयाँसम्म कर्जा लिन सक्छन्। अधिकतम ४० लाखसम्म शैक्षिक सापटी, ६० लाखसम्म सरल सापटी, एक करोडसम्म जग्गा खरिद सापटी प्रहरी कर्मचारीले पाउँछन्।
त्यसका लागि कोषले तोकेको स्थानमा भएको घरजग्गा धितो राख्नुपर्ने प्रावधान छ। कोषले सुत्केरी तथा शिशु स्याहारका लागि सात हजार पाँच सय रुपैयाँ प्रदान गर्छ। सञ्चयकर्ताको सेवावधिभित्रै निधन भएमा नजिकको कानुनी हकदारलाई ४० हजार रुपैयाँ अनुदान स्वरूप दिने व्यवस्था छ।
दुर्घटनामा परेर सञ्चयकर्ताको मृत्यु वा पूर्ण अंगभंग भएमा हकदारले आर्थिक सहयोग स्वरूप अधिकतम दुई लाख रुपैयाँ पाउने मुख्यालयले जानकारी दिएको छ। साधारण रोगको उपचारका लागि एक लाख तथा घातक रोगका निम्ति १० लाख रुपैयाँ प्रदान गरिन्छ। यता, नागरिक लगानी कोषबाट प्रहरी कर्मचारीले विशेष सापटी, आवास कर्जा, सरल कर्जा, शैक्षिक कर्जा, सवारी साधन खरिद कर्जा, दुर्घटना भुक्तानी सुविधा पाउँछन्।
त्यसमा आबद्ध सहभागीहरूले कोषमा जम्मा भएको रकमको ९० प्रतिशतसम्म विशेष सापटी सुविधा प्राप्त गर्दै आएका छन्। त्यसैगरी, नयाँ घर निर्माण, घर–जग्गा खरिद, घरको तला थप, घर मर्मत, फ्ल्याट खरिद गर्नका लागि धितो राखेर अधिकतम एक करोड रुपैयाँसम्म कर्जा लिन सक्छन्।
पति–पत्नी दुवै जना कोषमा सहभागी भएको खण्डमा एक करोड ५० लाख रुपैयाँसम्म कर्जा दिइन्छ। कोषका निक्षेपकर्ताले आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिकलगायत व्यक्तिगत प्रयोजनका निम्ति पाँचदेखि ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था छ। शैक्षिक कर्जाको न्यूनतम सीमा पाँच लाख र अधिकतम सीमा ४० लाख रुपैयाँ रहेको छ।
निजी सवारी साधन खरिदका निम्ति धितो सुरक्षण लिएर अधिकतम ३० लाख रुपैयाँसम्म कर्जा लिन सकिन्छ। दुर्घटनामा परेर कोषमा सहभागीको मृत्यु भएमा एक लाख रुपैयाँ प्रदान गरिन्छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट आवधिक जीवन बीमाबापत २० वर्षपछि दुई लाख बीमाङ्क रकम र आर्जित रकमको बोनस थप गरी एकमुष्ट भुक्तानी पाउने व्यवस्था रहेको मुख्यालयले जनाएको छ।
त्यस्तै, बीमितको मृत्यु भएमा बीमाङ्क रकम दुई लाख र आर्जित रकमको बोनस थप बीमा भुक्तानी सुविधा प्रदान गरिन्छ। बीमा योजनामा लागू भएको दुई वर्षपछि समर्पण मूल्यको ९० प्रतिशत बीमालेख धितो राखेर ऋण सुविधा लिन पाउने व्यवस्था छ। प्रहरी कर्मचारीहरूले राष्ट्रिय वाणिज्य बैंकबाट पनि विभिन्न सुविधा पाइरहेका छन्।
प्रहरीका बचत खातावाला ग्राहकलाई बैंकले क्रेडिट कार्डको सेवाशुल्कमा ५० प्रतिशत छुट प्रदान गर्छ। लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट सुविधा दिइँदै आइएको छ। खातामा मौज्दात रहने तीन लाख रुपैयाँसम्मको निक्षेप बीमा, शून्य मौज्दातमा डलर खाताको सुविधा, विदेशी मुद्रा सटहीमा शून्य दशमलव १५ प्रतिशत छुटलगायतका सेवासुविधा बैंकबाट प्रहरी कर्मचारीलाई प्राप्त हुन्छ।
टिप्पणीहरू