डिएसपी खरेलले स्पष्टीकरण दिनुपर्ने

डिएसपी खरेलले स्पष्टीकरण दिनुपर्ने

नेपाल प्रहरीका डिएसपी डा.दिपक खरेलसँग स्पष्टीकरण मागिएको छ । लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई आज गृह मन्त्रालयले सार्वजनिक सूचना निकालेर स्पष्टीकरण सोधेको हो । 

मन्त्रालयले चित्तबुझ्दो लिखित जवाफसहित आगामी सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । अन्यथा, भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी जिम्मेवारीबाट बर्खात गर्ने मन्त्रालयको चेतावनी छ । 

सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित यस कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंउपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा ऐ.नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम ‘भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ कारबाही भइजाने छ ।’

महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत प्राविधिकतर्फका डिएसपी खरेलले २०८१ माघ २ गतेदेखि लागू हुनेगरी एक महिने घर बिदा स्वीकृत गराएका थिए । त्यसपश्चात् थप एक महिना घर बिदा लिएका उनी चैत १२ गतेदेखि कार्यालयमा हाजिर हुनुपर्नेमा बिना सूचना गैरहाजिर रहेको जनाइएको छ ।

टिप्पणीहरू