बागमतीमा बानियाँ र बहादुरको लफडा बल्झियो
बागमती प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसभित्रको किचलोले अर्को मोड लिएको छ । राजनीतिक स्थायित्वको नारा दिएर केन्द्रमा बनेको गठबन्धन बमोजिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसमा पदको भागबण्डा नमिल्दा लफडा चर्किएको हो ।
निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा समूह आफ्नै पार्टीका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने मनस्थितिमा पुगेको छ । सभापति शेरबहादुर देउवासँग सल्लाह गरेर यसबारे निर्णय लिने लामाको तयारी छ ।
संसदीय दलमा बहुमत गुमाएपछि पनि मुख्यमन्त्री नछोड्ने अडान लिएका लामाले सभापति देउवाले निर्देशनपछि राजीनामा दिएका थिए । त्यसपछि साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले कांग्रेसका ६ र एमालेबाट २ जनालाई समेटेर क्याविनेट गठन गरेका छन् ।
मार्गप्रशस्त गर्नुअघि सभापति देउवालाई समेत जानकारी गराइ बानियाँसँग गरिएको सहमति कार्यान्वयन नभएको लामाको गुनासो छ । उनका अनुसार साउन १४ आफैँले नियुक्त गरेका तीन मन्त्री (गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ)लाई जिम्मेवारी दिने सहमति थियो ।
तर, मुख्यमन्त्री बानियाँले लामाको अघिल्लो क्याविनेटका तीन मन्त्रीलाई समेटेनन् । 'मेरो तीन मन्त्रीलाई सरकारमा सहभागी गराउने सहमति भएपछि मैले त मार्गप्रशस्त गरिसकेँ, तर उहाँ (बानियाँ)ले त्यसअनुसार गर्नुपर्दैन ?’, लामाले जनआस्थासँग भने, ‘सभापतिज्यूसँग भरेसम्म भेट्दैछौँ, उहाँलाई यसअघिको सहमति थाहै छ, उहाँले मुख्यमन्त्रीलाई निर्देशन दिनुभयो भने ठीकै छ, नत्र हामी पनि आफ्नो तरिकाले अघि बढ्छौँ ।’
मुख्यमन्त्री बानियाँले तीन मन्त्रीलाई एक दिनभित्र जिम्मेवारी नदिए विश्वासको मत नदिने उनले स्पष्ट पारे ।
‘उहाँ (बानियाँ) ले साउन २७ गते विश्वासको मत लिदैँ हुनुहुन्छ, तर त्यसअघि हाम्रो माग सम्बोधन भएन भने विश्वासको मत दिदैनौँ’, लामाले भने, ‘सभापतिज्यूलाई पनि यही कुरा राख्ने हाे, कि त हाम्रो सहमति कार्यान्वयन हुनुपर्यो, नत्र हामी सामुहिक राजीनामा दिन्छौँ !’
कांग्रेसभित्रै एउटा समूह असन्तुष्ट भैरहँदा सत्ता साझेदार नेकपा एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन (ह्विप) जारी गरेको छ । मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिँदै छन् । उक्त दिन अपराह्न ४ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
टिप्पणीहरू