क्रिकेट टोलीको जर्सी प्रायोजन नासाले गर्ने, खेलाडीको बिदाई

क्रिकेट टोलीको जर्सी प्रायोजन नासाले गर्ने, खेलाडीको बिदाई

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको जर्सी प्रायोजकमा नासा सेक्युरिटिज जोडिएको छ । नेपाल क्रीकेट संघ (क्यान) र नासा सेक्युरिटीजबीच आज जर्सी प्रायोजन गर्ने सम्झौता भएको हो ।

क्यानका चतुरबहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डाइरेक्टर मदन पौडेल सम्झौतामा हस्ताक्षर गरे । क्यानले वार्षिक दुई करोड ३६ लाख रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ ।  

सोही कार्यक्रममा नासा सेक्युरिटीजको लोगो अंकित नेपाली राष्ट्रिय टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो । सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासमा कर्पोरेट सेक्टरको भूमिका महत्वपूर्ण रहने बताए ।

नेपाली खेलकुद ऐनमा नै निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत अनिवार्य रूपमा नेपाली खेलकुदलाई जोड्न सके विकास सम्भव रहेको उनको भनाइ रह्यो । 

क्यानका अध्यक्ष चन्दले पछिल्लो समय नेपाली क्रिकेटले राम्रो गरिरहेको र खेलाडीहरू पनि क्यानको आन्तरिक राजनीतिमा नलाग्न सुझाव दिए । सचिव पारस खड्काले सम्झौताबारे उल्लेख गर्दै यो सहकार्यले नेपाली क्रिकेटमा नयाँ अध्याय शुरु भएको विश्वास व्यक्त गरे । 

नेपाली टोलीको बिदाई 

अष्ट्रेलियामा बुधवारदेखि शुरु हुने टप इण्ड टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई सोही कार्यक्रमबाट बिदाई गरिएको थियो । आइसिसी टी ट्वान्टी विश्वकपको छनोटको तयारीका लागि नेपालले अस्ट्रेलियामा यो प्रतियोगिता खेल्दैछ । 

सो अवसरमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप तयारीका लागि यो प्रतियोगिता महत्त्वपूर्ण हुने आशा व्यक्त गरे । साथै उनले टिम बिल्डअपमा अष्ट्रेलिया भ्रमणले मद्दत गर्ने विश्वास जनाएका छन् ।

 

टोली भोलि त्यता प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाल पहिलोपल्ट सिरिजमा सहभागी हुन लागेको हो । 

एनटीको आयोजनामा हुने सिरिजमा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् । साथै बिबिएलका टोली हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका एकेडेमी गरी कुल ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ । नेपालले आफ्नो पहिलो खेल आगामी अगस्ट १५ मा एनटी स्ट्राइकसँग खेल्नेछ । 

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), गुल्सनकुमार झा, भीम सार्की,  कुशल मल्ल, रुपेशकुमार सिंह, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दनकुमार यादव, रिजन ढकाल, ललितनारायण राजवंशी र लोकेश बम छन् । ललितलाई मातृशोक परेकाले उनको स्थानमा शाहब आलमलाई टोलीमा समावेश गरिएको छ ।

टिप्पणीहरू