चौरासीपछि पनि कांग्रेस-एमालेकै सरकार बन्ने घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को चुनाव पछि पनि नेकपा एमाले र नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ ।
चुनाव आउन साढे दुई वर्ष बाँकी छँदै उहाँले आज यस्तो भविष्यवाणी गर्नुभएको हो । अरु कुनै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भवना नरहेको जिकिर गर्दै प्रम ओलीले त्यस्तो कुरा नसोच्न आग्रहसमेत गर्नुभयो ।
कांग्रेस र एमालेले बहुमत ल्याउन नसके अहिलेजस्तै गठबन्धन गर्ने तर 'टालाटुली बटुली' गरेर सरकार बनाउने काममा नलाग्ने उहाँको दाबी छ । भन्नुभयो, ‘यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईंहरु यो नठान्नुस् की कोही अर्को । तपाईंहरुलाई अहिले नै भनिदिन्छु कि एमालेले बनाउँछ, एमालेले बनाएम भने काँग्रेसले बनाउँछ । काँग्रेसले बनाएन भने एमाले–काँगेसले बनाउँछन् । यो तीनवटा बाहेक अर्को कुनै विकल्प छैन ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर सरकार भएको भन्दै ढुक्क भएर काम गर्न आग्रह पनि गर्नुभएको छ । केही मन्त्री फेरिदैमा सरकार नै फेरिएको नहुने तर्क उहाँको छ ।
‘तपाईंहरू ढुक्कले काम गर्न सक्नुहुन्छ, पहिला कतिबेला सरकार जाला, कहिले सरकार जाला, आदि इत्यादिको समस्या हुन्थ्यो,’ ओलीले भन्नुभयो, ‘अहिले त्यो समस्या छैन । अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै एउटा फेरिन्छ । अरु मन्त्री फेरिएको भनेको कुरालाई सरकार फेरिएको भनिँदैन ।’
आफूलाई केही मानिसले कांग्रेसभित्र ठूलो समस्या आएको र संसदीय दलको नेता फेर्न १२ जनाको अभाव रहेकाले उक्त संख्या पुर्याएर सरकार ढाल्ने षड्यन्त्र भइरहेको भनेर सुनाउन आएको समेत उहाँले उल्लेख गर्नुभयो ।
‘आज बिहान आएर मात्रै मलाई एक जनाले भन्यो- नेपाली कांग्रेसभित्र एकदम ठूलो समस्या हुने भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पुर्याएर ढाल्ने भए भनेर सुनाएको थियो’, प्रमले अगाडि भन्नुभयो, ‘यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन । यो सरकार स्थिर सरकार हो ।’
टिप्पणीहरू