सबै श्रेणीहरू

मन्त्रीले खोसे सचिवको गाडीको चाबी

मन्त्रीले खोसे सचिवको गाडीको चाबी

‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने उखान कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले देखाउने हर्कतसँग मेल खाएको चर्चा छ ।  मन्त्रालयका सचिवलाई उनले सताउने गरेसङ्गै यस्तो चर्चा चुलिएको हो ।

हाङगामले मन्त्रीको न्यूनतम मर्यादासमेत भुलेर एकोहोरो कर्मचारीमाथि प्रहार गरेको नेपाली कांग्रेसका एक कार्यकर्ताले जनआस्थालाई बताए । उनको बालहठबाट आजित सचिव शरणकुमार पाण्डे दुई महिना लामो बिदामा पुनः बस्न बाध्य भएका छन् । 

बताइएअनुसार प्रचलित ऐन, कानूनसँग मेल नखाने गरी मन्त्रीले कर्मचारी नियुक्तिमा दबाब दिएपछि विवाद शुरु भएको हो । यसअघिका मन्त्रीले करारमा भर्ना गरेका दश जना सवारी चालक र कार्यालय सहयोगीलाई हटाएर उनले आफ्ना मान्छे नियुक्त गर्न ठाडो निर्देशन दिएका थिए । तर, सचिव पाण्डेले विधि र प्रक्रिया नपुर्याई त्यसो गर्न नमिल्ने बताए । मन्त्री भने आफ्ना मान्छे राख्नैपर्ने एकसूत्रीय अडानमा टसमस भएनन् । मन्त्री हाङगामसँग पाण्डेको अनुरोध थियो–खाईपाई आएकाहरुको रोजीरोटी नटुटाऔं,बरु उनीहरुको करार अवधि सकिएपछि नयाँ भर्ना गर्दै जाउँला । यसले राम्रो थिति र प्रक्रिया बस्छ ।

तर, त्यसमा मन्त्री सहमत नहुँदा विवाद थप चर्किंदै गयो । बाहुबलमा विश्वास गर्ने हाङगामले सचिवको गाडीको चाबी खोस्नेसम्मको हर्कत गरेको बताइन्छ । त्यसअघि उनले करारका सबै चालकलाई बोलाएर सचिव पाण्डेलाई बोकेमा कारबाही गर्ने चेतावनी पनि दिएका थिए । पाण्डेले जनआस्थासँग भने,‘मैले त कानूनले दिएको कुरा गर्ने हो । कानूनले दिएको कुरा मिलेसम्म गरेकै छु । कानूनले नै गर्न नसकिने कुरा त जसले भने पनि गर्न सक्दिन । हाम्रा पनि सीमा र दायरा छन् ।’

रीतपूर्वक आफूकहाँ आइपुगेको कुनै पनि काम नअड्काएको उनले दावी गरे । 'म त यहाँ किसानहरूको सेवा गर्न आएको हुँ',उनले भने, ‘गाडी नभएर के भयो ? हिँडेर भएपनि कृषकको सेवामा जान मलाई कसैले रोक्न सक्दैन ।’

यसबीच मंसिर २५ गतेसम्म अढाई महिना लामो बिदामा बसेका उनले बिदापश्चात् के गर्लान् ? त्यो भने हेर्न बाँकी नै छ । संघीय कृषि मन्त्रालयमा सहसचिव रहेका उनी मधेश र बाग्मती प्रदेशको कृषि तथा उध्योग मन्त्रालयमा काम गर्दा विवादमा नपरेका कर्मचारी हुन् । 

यता, हाङगाम भने राजनीतिमा आएदेखि नै अनेक विवाद र लफडामा पर्दै आएका छन् । कांग्रेस नेता उनी ०७९ को चुनावमा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । 

मन्त्री हाङगाममाथि पाथीभरा क्षेत्र विकास समितिका सभापतिलाई कुटपिट गरेको आरोप छ भने गत जेठमा बजेट निर्माणका क्रममा सचिवमाथि झम्टिएका थिए । प्रमुख सचिवसँग छलफल गर्न गएको भन्दै उनले सचिव पाण्डेसहित महाशाखा प्रमुखहरूलाई भौतिक कारबाहीको धम्की दिएको कर्मचारीहरूले बताएका छन् ।

उनीमाथि प्रहरी अधिकारीलाई समेत धम्की दिएको आक्षेप छ । ताप्लेजुङका तत्कालिन प्रहरी प्रमुख डिएसपी राजन लिम्बुसहित उनको परिवारकै ज्यान लिने धम्की दिएको समाचार बाहिर आएको थियो । यी सबै घटनाक्रमबारे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की जानकार हुँदाहुँदै पनि सत्ता जोगाउनुपर्ने बाध्यताले निरीह बनेको एमालेकै एकथरी नेता बताउँछन् ।