सबै चाडपर्वमा रमाउने मुस्लिम युवा

सबै चाडपर्वमा रमाउने मुस्लिम युवा

मुलुकको कानुनले जात र धर्मको आधारमा विभेद गर्न निषेध गरेको छ । विभेद गरेमा जरिवानासँगै कैद सजायको कानुनी व्यवस्था छ । तरपनि, जातीय र धार्मिक विभेदका नाममा हुने असमानताहरु समाजमा यद्यपि कायम छन् । तर अन्तर धार्मिक विवाहलाई समाजले अघोषित प्रतिबन्ध भने लगाएको छ । 

हिन्दू र मुस्लिम समुदायमा संकीर्ण सांस्कृतिक विभेदको कठोरता निकै बढी पाइन्छ । तर, पछिल्लो समय समाजमा केही साहसी व्यक्तिहरु देखिएका छन्, जो जातभात र धर्मको कट्टरता भन्दापनि साँचो प्रेमसहित अन्तरधार्मिक सांस्कृतिक अन्तरघुलनमा विश्वास गर्छन् । समाजमा परिवर्तन गर्न अग्रसर उनीहरु सबै धर्मको चाडपर्वमा सहभागी भएर शुभकामना आदानप्रदान गर्छन् । 

तिनैमध्येका एक हुन, विराटनगरका मुस्लिम समुदायका वसिम आलम । मुस्लिम समुदायबाट भएपनि उनी सबै धर्मले मान्ने चाडपर्वहरुमा सरिक हुन्छन् । दशैं, तिहार, माघे संक्रान्ति, रक्षाबन्धन, क्रिसमस डेलगायत सबै चाडपर्व उनले मान्छन् । दशैंमा उनले हिन्दू धर्म मान्नेहरुको हातबाट टिका लगाएर आर्शिर्वाद थाप्छन् । तिहारमा भाइटिका लगाउँछन् भने रक्षाबन्धनमा दिदीबहिनीको हातबाट राखी बाँध्छन् । 

उनले यसपालि पनि हिन्दू दिदीबहिनीको हातबाट राखी बाँधेर रक्षाबन्धन मनाए । मुस्लिम भएपनि वसिम परिवर्तनकारी विचारले खारिएका युवा हुन् । हाल नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य उनी ‘समाज परिवर्तन आफैंबाट शुरु गर्नुपर्ने’ धारणा राख्छन् । 

उनी धार्मिक विभेदको चर्को विरोध पनि गर्छन् । २०६७ सालमा उनले किराँत समुदायकी सञ्जु राईसँग धुमधामले मागी विवाह गरेका हुन् । सञ्जु हिन्दू र मुस्लिम दुवै धर्म मान्छिन् । वसिम भन्छन्,‘भगवान सबैका एकै हुन्छन् अनि सबैको मुख्य धर्म मानवता नै हो । यसैले धर्मको नाममा आपसमा घृणा गर्नु बेकार हो ।’

टिप्पणीहरू