सौर्य जहाज दुर्घटनाको प्रतिवेदन मृतकका आफन्तलाई अमान्य

सौर्य जहाज दुर्घटनाको प्रतिवेदन मृतकका आफन्तलाई अमान्य

सौर्य एयरलाइन्सको नाइनएन—एमइ सिआरजे २०० विमान दुर्घटनामा तीन सन्तान गुमाएका प्रकाश खतिवडाले जाँचबुझ आयोगको प्रतिवेदनमाथि असन्तुष्टि जनाएका छन् । 

प्रतिवेदनले कतिपय कुरा सहीरुपमा बाहिर ल्याउन नसकेको दाबी गर्दै उनले आज प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा असहमति व्यक्त गरेका हुन् । नेपालमा हालसम्मको १०९ वटा विमान दुर्घटनाको इतिहास हेर्दा सौर्य जहाजको दुर्घटना छुट्टै खालको भएको खतिवडाले बताए । 

मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्ष देखाइएकोमा भने उनके सहमति जनाएका छन् । तर, सौर्य एयरलाइन्स, एरोड्रोन र नेविगेसनको विषय प्रतिवेदनमा गरिए पनि सेवा प्रदायक भनेर उल्लेख नगरेकोप्रति आपत्ति जनाए । 

सेवा प्रदायक संस्थाको अनुमति दिने व्यक्ति जाँचबुझ समितिका संयोजक रतिशचन्द्रलाल सुमनको आफन्त भएकाले त्यो नखुलाइएको खतिवडाको दाबी छ । सौर्यको त्यसदिनको उडान, यात्रुहरु र एयरलाइन्स कम्पनीको हर्कत पनि अवैधानिक रहेको उनले खुलाए । 

उर्जा मन्त्रालयमा कार्यरत आफ्नी छोरी र चार वर्षको नातीलाई समेत सौर्य एयरलाइन्सको कर्मचारी बनाएर उडाइएको भन्दै उनले दुखेसो पोखे । सरकारले छानविनका लागि बनाएको जाँचबुझ आयोग अवैधानिक रहेको खतिवडाको भनाइ छ ।

‘मेरो ४ वर्षको नातीलाई किन सौर्य एयरलाइन्सको स्टाफ बनाइयो ? यहाँ हेर्न सक्नुहुन्छ । म देखाउनसक्छु । अधिराज शर्मा, सौर्य एयरलाइन्स स्टाफ । मेरी छोरी उर्जा मन्त्रालयमा कार्यरत थिइन् । तर सौर्य एयरलाइन्सको स्टाफ लेखिएको छ’, उनले गुनासो गर्दै भने, ‘घटनाको दिनसम्म उर्जा मन्त्रालयमा कार्यरत थिइन् । आर्थिक र व्यापारिक स्वार्थसँग जोडेर मेरो डिग्निटीसँग खेल्ने प्रयास भयो । मेरो छोरीलाई भ्रष्टीकरण गर्ने प्रयास भएको छ । उर्जा मन्त्रालयमा कार्यरत थिइन् मेरी छोरी । कसरी सौर्य एयरलाइन्सको स्टाफ भइन् ?’

प्रतिवेदन बनाउँदा अरुसँग अन्तर्वार्ता लिएको उल्लेख गरेपनि तीन सन्तति गुमाएको परिवारसँग कुनै सोधपुछ नगरिएको उनको भनाइ छ । त्यसकारण प्रतिवेदन नियोजित रहेको ठहर गर्दै उनले पीडितका कुरा सुनियो भनेपनि न्याय पाएको अनुभुति नभएको स्पष्ट पारे । 

‘आयोग पनि इलिगल छ । यो प्रतिवेदन नियोजित छ । सारासँग अन्तर्वार्ता लिएको छ । तर म तीन सन्तान गुमाएको अभिभावकसँग उहाँले सम्पर्क पनि गर्न चाहनुभएन । मेरो पीडा त्यहाँबाट शुरु भएको छ । पीडितलाई पीडितका कुरा सुनियो भनेपनि न्याय पाएको अनुभुति हुन्छ’, खतिवडाले भने, ‘तपाईंहरुले आज राम्रोसँग कुरा सुनिदिनुभयो भने मलाई न्याय चाहिँदैन । मेरो पीडा कम हुन्छ । तर उहाँहरुले मसँग सम्पर्क गर्न चाहनुभएन । मलाई मान्छे ठान्नुभएन । सबैभज्दा बढी क्षति व्यहोरेको मान्छे हुँ ।’

उनले न्यायिक जाँच आयोग बनाएर थप अनुसन्धान गर्न मागसमेत गरेका छन् । तथ्य र प्रमाणले सार्यको विमान दुर्घटनामात्रै नभएको स्पष्ट हुने जिकिर उनले गरे । 

२०८१ को साउन ९ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । जहाँ १८ जनाको ज्यान गएको थियो । दुर्घटनामा खतिवडाका ज्वाईं, छोरी र नातीको निधन भएको थियो ।

टिप्पणीहरू