देउवाले आयोजना चोरेको आरोप लगाउने माननीय प्रधानमन्त्री नदेखेर दिक्क

देउवाले आयोजना चोरेको आरोप लगाउने माननीय प्रधानमन्त्री नदेखेर दिक्क

सत्ता साझेदार नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले संसदमा प्रधानमन्त्री र मन्त्रीहरूको अनुपस्थितिप्रति चर्को आक्रोश पोखेका छन् । 

आजको प्रतिनिधि सभा बैठकमा उनी सम्बन्धित मन्त्री नै नभएपछि बोल्नुको अर्थ नहुने भन्दै झोक्किए । सांसद गौतमले संसदलाई प्रभावकारी बनाउन सभामुखको ध्यानाकर्षण पनि गराएका छन् ।

‘सरकारलाई हेर्यो सरकारजस्तो छैन, संसद हेर्यो (अलि भाइब्रेट हुनुपर्ने हो) संसदजस्तो छैन’, उनले भने, ‘यो संसदको वातावरण नै भएन, सरकारले यसमा गम्भीर भएर सोच्नुपर्छ, संसदलाई रिथथिङ्क गर्न सभामुखको पनि अलि ध्यान जाओस् ।’

विषेश समयमा बोलेका गौतमले आफ्नो कुरा सुन्ने र नोट गर्ने सांसद, मन्त्री सदनमा नभएकोमा पनि आक्रोश जनाए । 

‘सम्माननीय प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू, वाणिज्यमन्त्रीज्यूहरु कहाँ हुनुहुन्छ, कोही पनि देख्दिन’, उनले भने, पहिले पहिले त संसद चलेको बेलामा मन्त्री र कर्मचारी बस्ने, विशेष समयमा बोलेका कुरालाई नोट गर्ने, त्यसको प्रभावलाई विश्लेषण गर्ने, त्यसलाई सम्बोधन गर्ने चलन थियो, सबै हराएर गयो, हामी यस्तै गरेर हिँड्ने हो यो सिस्टम नै रहँदैन ।’

सांसद गौतमले गत साता संसदमै सत्याग्रह शुरु गर्ने चेतावनीसमेत दिएका थिए । पार्टी सभापति शेरबहादुर देउवाले बर्दियाको आयोजना सुटुक्क चोरेर डडेलधुरा पुर्याएको उनको आरोप थियो ।
 

टिप्पणीहरू