ट्रकमा ढुंगाले लाग्दा ड्राइभर सिकिस्त

ट्रकमा ढुंगाले लाग्दा ड्राइभर सिकिस्त

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा भारतीय नम्बरको ट्रकमा भीरबाट ढुंगा खसेर लाग्दा चालक गम्भीर घाइते भएका छन् । 

घटना आज दिउँसो साढे एक बजेतिरको हो । तुइनखोलास्थित सडकमा गुडिरहेको केए-४३६८५६ नम्बरको ट्रकमा एक्कासी माथितिरबाट झरेको ढुंगा बजारिएको थियो । ढुंगाले लागेर ट्रकका ड्राइभर भारतको ब्याङलोर निवासी अन्दाजी ४०/४५ का मेगुप्रसादको टाउकोमा गम्भीर चोट लागेको चितवन प्रहरीले जानकारी दिएको छ । 

जिप्रकाका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालका अनुसार ट्रकमा चालकका छोरा र अर्का एक युवक पनि सवार थिए । उनीहरू भने सामान्य घाइते भएका छन् । 

तीनैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ । घटनालगत्तै उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट जलबिरेबाट सहायक निरीक्षक राजेश सहनीको कमाण्डमा ट्राफिकसहितको टोली खटिएको थियो । 

अहिले ट्रक घटनास्थलमै साइडमा रहेको र दुबैतर्फी आवागमन सुचारु भइसकेको छ । ट्रकमा प्लाईउड लोड रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू