बानियाँको बेवास्ताले बहादुरका तीन मन्त्री ‘अलपत्र’

बानियाँको बेवास्ताले बहादुरका तीन मन्त्री ‘अलपत्र’
सुन्नुहोस्

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन बाध्य पारिएका असन्तुष्ट सांसदहरुले पार्टी नेतृत्वबाट अन्याय भएको गुनासो गरेका छन् । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामासहित १४ सांसदले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुअघि गरेको सहमति कार्यान्वयन गर्न चासो नदेखाएको बताएका हुन् ।

नेपाली कांग्रेस प्रदेश कार्यसमितिका सभापतिसमेत रहेका बानियाँ साउन १४ गते दलको नेता बन्दै साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर, तीन मन्त्री पाउनुपर्ने बटमलाईन राखेर पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका लामा र उनी निकटका सांसदहरु यतिबेला ‘अलपत्र’ परेका छन् ।

एक पटक पुनः पार्टी सभापति देउवासँग भेटेर कुरा राख्ने उनीहरुको योजना छ । रोचक के छ भने निवर्तमान मुख्यमन्त्री लामाले जाँदाजाँदै नियुक्त गरेका तीन मन्त्री (गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ) यतिबेला शान्त छन् । सपथका लागि नयाँ पोशाक लगाएर प्रदेश प्रमुखको कार्यालय जाँदाजाँदै उनीहरु अन्तिम घडीमा रोकिएका थिए । 

त्यसपछि देउवा निवासमा उनीहरुलाई नै निरन्तरता दिने सहमति गरेर विश्वासमा मत दिन लगाइएको थियो । तर, मुख्यमन्त्रीले उक्त सहमति कार्यान्वयन गरेनन् । मुख्यमन्त्री बानियाँले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेको डेढ हप्तासम्म पनि उनीलाई मन्त्री बनाउने छाँटकाँट छैन । 

बहादुरको पालाकी मन्त्री गीता गुरुङका अनुसार बानियाँलाई विश्वासको मत दिएपछि लामा समूहलाई कुनै खबर आएको छैन् । बानियाँले आफूहरुलाई पनि सपथ खुवाएर जिम्मेवारी दिनुपर्नेमा कुनै चासो नदेखाएको उनले बताइन् । 

प्रदेश कार्यसमितिकी सदस्य समेत रहेकी गुरुङका अनुसार सभापति देउवाले ‘म भन्छु, तिमिहरुले विश्वास मत देऊ’ भनेर बूढानीलकण्ठबाट फर्काए पनि बानियाँले कुनै चासो देखाएका छैनन् ।

‘सभापतिज्यूले त्यत्रो भनिसकेपछि बानियाँ दाइले हामीसँग संवाद गनुपर्ने हो, तर उहाँले कुनै वास्ता गर्नुभएको छैन’, गुरुङले भनिन्, ‘पार्टी बचाउनलाई हामीले त्याग गर्दा उल्टो अन्याय भयो, न हामीलाई सपथ खान दिइयो, न बोलाइयो ।’

आज दिउँसो निवर्तमान मुख्यमन्त्री लामासँग फोन वार्ता गरेर मुख्यमन्त्री बानियाँको कदमबारे छलफल भएको उनले जानकारी दिइन् ।

‘लामा दाइसँग कुराकानी भयो, उहाँले कुनै प्रतिक्रिया आएको छैन भन्नुभयो, हामी १४ जनामध्ये एक जना बाहिर (विदेश) हुनुहुन्छ, उहाँ आउन बित्तिकै फेरि छलफल गरेर अघि बढ्ने कुरा भएको छ’, गुरुङले थपिन् ।

टिप्पणीहरू