समितिका तीन जना महिला तीनतिर
मानव बेचबिखन तथा ओसारसार (नियन्त्रण) नियमावली, २०६५ मा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला समिति रहने व्यवस्था छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) नियमावली, २०७७ ले पनि समितिमा जिल्ला प्रहरी प्रमुख, जिल्ला न्यायाधिवक्ता र नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिका प्रतिनिधिलाई सदस्य तोकेको छ ।
नियमावली बनाउँदा महिला विकास अधिकृतलाई सदस्य–सचिव राखिएकोमा परिवर्तन गरेर जिल्ला प्रशासन कार्यालयको शाखा अधिकृत वा प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृतस्तरको प्रतिनिधि सदस्य–सचिव रहने भनिएको छ ।
त्यसमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा जिल्लामा कार्यरत व्यक्ति वा संस्थाहरूमध्येबाट समावेशी सिद्धान्तको आधारमा प्रमुख जिल्ला अधिकारीद्वारा मनोनीत तीन जना महिला सदस्य हुने नियम यथावत् छ । तर चितवनमा अहिले तीन जना मनोनीत महिलाको ठाउँमा कोही पनि नरहेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ । तीनजना तोक्दा विवाद हुन्छ भन्दै अहिलेलाई कोही पनि नराखिएको प्रजिअ प्रकाश पौडेलले बताए । भन्छन्, ‘नयाँ–पुरानाको विवाद जहाँ पनि रहन्छ ।’
स्रोतका अनुसार पहिले आदर्श गृह नेपालकी मीना खरेल, आफन्त नेपालकी अनिता खड्का र चेली नेपालकी केमिका घिमिरेलाई समितिमा मनोनीत गरिएको थियो । उनीहरू धेरै वर्ष समितिमा रहे तर समितिमा बसेर सक्रिय भूमिका खेल्न नसकेको आरोपसमेत छ ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धकै क्षेत्रमा क्रियाशील अन्य संघ–संस्थाका प्रतिनिधिले समितिमा अरूलाई पनि पालो दिन आग्रह गरेपछि यसअघिका सिडिओ इन्द्रदेव यादवले मनोनीत महिला सदस्य फेरेका थिए । उनीहरूलाई हटाएर आशिष सामाजिक सेवा नेपालकी कल्पना सेन्चुरी, सामरी उत्थान सेवाकी विमला गायक र हाम्रो भरोसा नेपालकी अर्की एउटी महिलालाई समिति सदस्य बनाइयो ।
तर मीना खरेलहरूको डेलिगेसन गएर सिडिओलाई पछि हट्न बाध्य पारेको बताइन्छ । तुरुन्तै नयाँलाई खारेज गरी ती प्रजिअले पुरानै कायम गरेको माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले हामीलाई जानकारी दिए । प्रजिअ यादव २०८१ जेठ २३ देखि २०८१ कार्तिक ८ गतेसम्म चितवनमा कार्यरत थिए ।
त्यही नयाँ–पुरानाको विवादले गर्दा समितिमा अहिले कोही पनि मनोनीत महिला नराखिएको हालका सिडिओ प्रकाश पौडेलको भनाइ छ । ‘म आएपछि सबैलाई बोलाएर बैठक बस्यौं तर समितिमा यो भनेर तोकेका छैनौं,’ उनले भने। तर मीना खरेललाई छुटाउन नसकिने बताउँदै प्रजिअ भन्छन्, ‘उहाँ व्यक्ति आफैं एउटा संस्था जस्तो हुनुहुन्छ।’ मीनाले बोलेपछि अरूले बोल्नै पर्दैन भन्ने एकखाले व्यापक माहोल रहेको सिडिओ पौडेल बताउँछन् ।
मीना खरेल नेपाली कांग्रेस महासमिति सदस्यसमेत हुन् । यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनको संयोजक पनि उनै छिन् । फेरि आफन्त नेपाल र चेली नेपाल घाँटी जोडिएको एउटै संस्था भएको र केन्द्रीय समितिमा पनि प्रतिनिधित्व रहेको बताइन्छ। पछि समितिमा राखिएका विमला र कल्पना बरु दुबै दलित समुदायका हुन्। समावेशी सिद्धान्तको आधारमा उनीहरूलाई प्राथमिकता दिइनुपर्नेमा एउटै संस्था र व्यक्तिलाई किन तल र माथि दुई–दुईतिर? भन्ने प्रश्न समेत उब्जिएको छ ।
पहिलेका मनोनीत महिला सदस्यहरूको नामावली माग्दा ५–६ वर्षअघिको विषय भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनको सूचना अधिकारी फाँटबाट उनीहरूको नाम अहिले भेट्न नसकिने बताइयो। पछि फेरिएकाहरूको विषयमा पनि सहायक सिडिओ चिरञ्जीवी शर्माले ‘करेक्सन भइसकेको’ भन्दै नाम खुलाउन अनिच्छा देखाए। पछिल्लोपटक प्रमुख जिल्ला अधिकारीले बोलाएको मिटिङमा आदर्श गृह नेपाल, महिला सशक्तिकरण अभियान, चेली नेपाल, मञ्जुश्री, आफन्त नेपाल, आदर्श नारी विकास केन्द्र, सामरी उत्थान सेवा, माइती नेपाल, आशिष सामाजिक सेवा नेपाल र हाम्रो भरोसा नेपाल सहभागी रहेको भन्ने चाहिँ प्रशासन शाखाले जानकारी दिएको छ।
चितवनमा महिला तथा बालबालिकामाथि हुने हिंसा र मानव बेचबिखनविरुद्ध काम गर्ने कति संस्था दर्ता छन् र त्यसमा पनि कति सक्रिय र निष्क्रिय छन् भन्ने अलग जानकारी पनि सिडिओ कार्यालयबाट सजिलै पाउन सकिएन। सामाजिक र धार्मिक नाममा चितवनमा ३ हजार ९ सय २३ वटा संस्था अहिलेसम्म दर्ता भएको देखिन्छ।
नेपालमा अमेरिकी सहयोग रोकिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले गैरसरकारी संस्था महासंघसँग वैदेशिक सहायता प्राप्त गर्दै आएका संस्थाहरूको विषयमा जानकारी मागेको छ । तर उक्त जानकारी नदिएर संस्थाहरूले प्राप्त गर्ने वैदेशिक सहायताका विषयमा लुकाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालयकै एक कर्मचारीले जनआस्थालाई बताए।
– अजय गोर्खाली
टिप्पणीहरू