विमानस्थल सञ्चालन नभएकोमा मन्त्रीलाई चप्पल हान्ने चेतावनी
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न नभएकोमा भैरहवाका एक व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई चप्पल हान्ने चेतावनी दिएका छन्।
आज बिहान सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो व्यवस्थापन विषयक छलफलमा सहभागी व्यवसायी दीपेन्द्र पौडेलले भने, “मन्त्रीज्यू, अब यस्तै ‘गफ मात्रै’ गर्ने हो भने चप्पल हान्न बाध्य हुनेछौं।” संघका कार्यसमिति सदस्य समेत रहेका पौडेलको अभिव्यक्तिसँगै केही मिनेट हलमा मौनता छायो। केहिले मन्त्रीलाई कडा नै भन्नुभयो भने, केहिले ठिकै भन्नुभयो, कतिपयले जिब्रो टोके। मन्त्री भने नर्भस भए। छेउमा बसेका व्यवसायी नेता नेत्र आचार्य र संविधानसभा सदस्य समेत रहेका सिनपाका मेयर ईस्तियाक अहमद खानले मुखामुख गरे।
कार्यक्रममा विभिन्न व्यवसायीहरूले भैरहवा विमानस्थल नियमित नचल्दा धेरै व्यवसायीहरू बर्बाद हुने भन्दै मन्त्रीको गम्भीर ध्यानाकर्षण गराए। उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति राजेश कुमार अग्रवालले भने, सरकारले भैरहवा विमानस्थल चलाउन नसक्ने हो भने निजी क्षेत्रलाई जिम्मेवारी दिनुपर्ने बताए।
छलफलमा सहभागी सिद्धार्थनगरका मेयर ईस्तियाक अहमद खानले विमानस्थल नियमित नहुने हो भने आफ्नो नेतृत्वमा गठित संघर्ष समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिए। उनले भने, “म कांग्रेसबाटै निर्वाचित मेयर, मन्त्री पनि कांग्रेसकै। यस्ता बलियो सरकारले पनि भैरहवा विमानस्थल चलाउन नसक्नु दुखद हो।”
मेयर खानले भने, अत्यन्तै शालिन युवा व्यवसायी दीपेन्द्र पौडेलले मन्त्रीलाई चप्पल हान्ने अभिव्यक्ति दिनुपर्ने अवस्था सरकारकै कारण आएको हो। “एअरपोर्ट नचले हामी कार्तिक १७ को उपनिर्वाचन बहिस्कार समेत गर्न सक्छौं।”
नाट्टा अध्यक्ष चन्द्र थापा, सोट्टे अध्यक्ष श्रीचन्द्र गुप्ता, होटल एसोसिएसनका केन्द्रीय सदस्य सिपि श्रेष्ठ, पर्यटन व्यवसायी संजीव जोशी, आशा गुरुङ, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, संघका पूर्व अध्यक्षहरू विष्णु शर्मा, महेन्द्र श्रेष्ठ र ठाकुर श्रेष्ठ लगायतले भने, सरकारले कुनै बहानामा भैरहवा विमानस्थलमा नियमित उडान रोक्नु गलत हुने हो।
व्यवसायीहरूको करिब डेढ घन्टा सम्म आक्रोशपूर्ण कुरा सुनेपछि मन्त्री पाण्डेले भने, मन्त्रालयको तर्फबाट भैरहवा विमानस्थलमा नियमित उडान गराउन पूरा प्रयास भईरहेको छ। उनले भने, “मलाई चप्पल हानेर बोइङ आउने हो र। चप्पल मात्रै आउने हो। इरिटेशन गराउनेगरी संघर्षको प्रवृत्ति देखाएर हुँदैन। सहजिकरण जरुरी छ। पोखरामा सहजिकरण प्रवृत्ति छ, तर भैरहवामा खाली इरिटेशन गराउनेगरी संघर्ष भइरहेको छ। यसरी हुँदैन।”
कार्यक्रममा भैरहवा विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीले भने, विमानस्थल नेपाल एयरलाइन्ससँग प्रतिस्पर्धी नभए विदेशी एयरलाइन्सलाई हात जोडे समाधान नहुने हो।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षतामा र महासचिव कृष्णप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपस्थित सयौं व्यवसायीहरूले ४५ अर्ब भन्दा बढी एडीबिका ऋण लगानीमा निर्माण भएको भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउनु आवश्यक रहेको बताएका छन्।
तस्बिरहरु:



टिप्पणीहरू