सँधै असुरक्षित नारायणगढ–मुग्लिङ सडक
अति आवश्यक अवस्था बाहेक अहिले नारायणगढ–मुग्लिङ सडकमा यात्रा नगरेकै राम्रो भन्न थालिएको छ । हिजो बिहान मात्रै गुडिरहेको एउटा स्कुटरमा भीरबाट खसेको ढुंगा लागेको थियो भने आज बिहान पनि सुख्खा पहिरो खसेर केही घण्टा सडक अवरुद्ध भएको छ ।
बिहान करिब सवा ४ बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोला भन्ने स्थानमा सडकमाथिबाट सुख्खा पहिरो खस्दा बाटो दुईतर्फी नै बन्द भएको हो । वर्षा नभएको अवस्थामासमेत माथिबाट ठूला ढुंगाहरु खस्दा सडक अवरुद्ध भएको बताइन्छ ।
सडक खोल्न केही समय लागेको भएपनि अहिले दुवैतर्फको यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
हिजो बिहान करिब साढे ५ बजे सोही स्थानमा नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००३ प ३८१६ नम्बरको स्कुटरमा भीरबाट ढुंगा खस्दा सन्दीप रिजाल (रत्ननगर–३, चितवन) घाइते भएका थिए । उनको दाहिने गोडामा चोट लागेका कारण तत्काल एम्बुलेन्समा राखेर उपचारका लागि भरतपुर पठाइएको थियो । सिमसिमे पानी परिरहेको अवस्थामा भएको हिजोको घटनामा स्कुटर क्षतिग्रस्त बनेको हो ।
यसैबीच, भर्खरै सोही स्थानमा बिहानको भन्दा ठूलो सुख्खा पहिरो खसेपछि बाटो दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।
टिप्पणीहरू