४५ वर्षदेखि एमालेको संगठित सदस्य हुँ : पूर्वराष्ट्रपति भण्डारी

४५ वर्षदेखि एमालेको संगठित सदस्य हुँ : पूर्वराष्ट्रपति भण्डारी
सुन्नुहोस्

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू ४५ वर्षदेखि नेकपा एमालेको संगठित सदस्य भएको स्पष्ट पार्दै यस विषयमा धेरै छलफल आवश्यक नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले आफू एमालेकै कार्यकर्ता रहेकाले आलोचनाबाट मुक्त नहुने बताउनुभयो । त्यसैले यसबारे धेरै छलफल गरिरहन आवश्यक नरहेको उहाँको भनाई छ ।

भण्डारीले पार्टीले कुनै भूमिका नदिए पनि आफू एमालेको संगठित सदस्य रहिरहने स्पष्ट पार्नुभयो । राष्ट्रपतिको कार्यकाल सकिएपछि पार्टीको राजनीतिमा फर्किएको जानकारी गराउनुभयो । भन्नुभयो, ‘४५ वर्ष भयो म नेकपा एमालेको संगठित सदस्य हुँ। विराटनगरमै मैले शपथ खाएको हुँ। राष्ट्रपतिमा निर्वाचित हुँदा पार्टीले निर्णय गरेर पठाएको हो । आज पनि म एमालेमै छु। अरु कुरा थाहा भएन ।’

राजतन्त्र र गणतन्त्र फरक व्यवस्था भएको उल्लेख गर्दै भन्नुभयो, ‘राजा व्यक्ति हो, राष्ट्रपति एउटा पद हो । जोसुकै जनताको छोरा निर्वाचित भएर राष्ट्रपति बन्न सक्छन् । उनीहरू कार्यकाल सकिएपछि आफ्नो काममा फर्कन सक्छन् ।’

वाम एकताबारे उहाँले बलियो सम्भावना नरहेको तर सम्भावना नै नभएको भन्न नमिल्ने ठोकुवा गर्नुभयो । यता काठमाडौँको नयाँ बानेश्वस्थित थापागाउँमा भण्डारीको सम्पर्क कार्यालय तयार हुँदैछ । ‘मदन भण्डारी हीरक जयन्ती मूल समारोह समिति’को कार्यालय समेत रहने उक्त घरमा भदौ ५ गते भव्य उद्घाटन कार्यक्रम आयोजना गरिँदै छ ।

टिप्पणीहरू