कलिली खोज्दै हिँड्ने हाकिम
विभिन्न विद्यालयस्तरीय खेलकुद कार्यक्रममा अतिथि बनेर पुग्ने, अनि यौन सम्बन्धको लागि छात्राहरुलाई अनेकौं प्रलोभन दिने ! सके आफैं कुरा गर्ने, नसके कर्मचारीलाई परिचालन गर्ने ! जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका कार्यालय प्रमुख बालकुमार खनालको प्रसंग हो, यो ।
उनले एक नाबालिकासँग रात बिताउन गरेको तिकडमबाजीले यतिबेला खैलाबैला मच्चाएको छ । खनालले आफ्नै कार्यालय सहयोगीमार्फत् १४ वर्षीया नाबालिकालाई आफूसँग रात बिताउनको लागि अनेकौं प्रलोभन दिएका हुन् ।
हाकिमको गिद्धे नजर
खनाल विवाहित हुन्, तर तरुनी घुमाउन माहिर । सिद्धिचरण नगरपालिका–१२ स्थित एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत नाबालिकासँग रात बिताउन गरेको प्रयास त्यसैको पछिल्लो उदाहरण रहेको स्रोत बताउँछ । खनालले साउन पहिलो हप्ता एक खेलकुद कार्यक्रममा ती नाबालिकालाई पहिलोपल्ट देखेका थिए । त्यतिबेलै उनले ती नाबालिकाको परिचय र ठेगाना सोधीखोजी गरे । र, यौनको भोको रहेका उनले ती नाबालिकालाई आफ्नो जालमा पार्ने निधो गरे ।
आफ्नो पदीय हैसियतमा आँच आउने डर पनि थियो, उनलाई । त्यसकारण आफ्नै कार्यालय सहयोगी प्रमिला विश्वकर्मालाई परिचालन गरे । प्रमिलाले ती नाबालिकालाई ‘गोप्य काम छ’ भन्दै बारम्बार भेट्न बोलाइन् । प्रत्येक भेटमा उनले ‘सरले मन पराउनुभएको छ’ भन्दै नाबालिकालाई म्यानुपुलेट गर्ने प्रयास गरिन् । तर, नाबालिकाले भने प्रस्ताव स्वीकार गरिनन् । बरु साउन २१ गते प्रमिलासँग भएको कुराकानीको रेकर्ड बोकेर जिल्ला प्रहरी कार्यालय पुगिन् । जनआस्थालाई प्राप्त उक्त अडियोमा कार्यालय प्रमुख खनालको निर्देशनमा प्रमिलाले केकस्ता प्रलोभन दिएकी छन्, फेहरिस्त सुन्न सकिन्छ ।
ती नाबालिकाले उजुरी दिएकै दिन प्रहरीले प्रमिलालाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) मदन केसी बताउँछन् । उनका अनुसार प्रमिलालाई अहिले हिरासतमै राखिएको छ । ती नाबालिका र प्रमिलाको कुराकानी (अडियो)को तथ्य परिक्षण गर्न प्रहरीलाई दुई दिन लागेको थियो। ‘जिल्लाको हाकिमजस्तो मान्छेले त्यस्तो गर्छ भनेर सोचिएको हुँदैन, हामीले पनि त्यो अडियोको तथ्य चेकजाँच गयौँ’, डिएसपी केसी भन्छन्, ‘नभन्दै त्यो अडियोमा भएको कुरा लगभग सत्य नै देखियो, र हामीले साउन २५ गते उहाँ (खनाल)विरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी लिएर खोजी गरिरहेका छौँ।’
जिल्ला अदालतबाट पक्राउ पुर्जी लिदासम्म खनाल भने सम्पर्कविहीन भइसकेका थिए । डिएसपी केसीका अनुसार उनी अहिले पनि फरार छन् । प्रहरीले छिमेकी जिल्लाको संयन्त्रलाई पनि खनाललाई ‘जहाँ भेट्यो त्यहीँ समात्न’ सन्देश सर्कुलेट गरेको छ ।
त्यसो त, खनालले कलिला युवतीरुमाथि गिद्धे नजर लगाएको यो पहिलोपल्ट भने होइन । उनीविरुद्ध यसअघि पनि आधा दर्जन नाबालिका तथा किशोरीहरुले ‘ब्याड टच’ गरेको र यौन दुव्र्यवहार गरेकोजस्ता आरोप लगाएका थिए । ‘पहिला पहिला पनि आरोप लाग्न गरेको रहेछ, तर ठोस प्रमाण नहुने भएकाले उहाँ जोगिनुभएको रहेछ’, डिएसपी केसी थप्छन्, ‘यो पटक अडियो नै बलियो प्रमाणको रुपमा देखिएकोले उहाँको गलत कार्य बाहिर आयो, उहाँ फरार हुनुले आरोपहरु स्वतः प्रमाणित हुँदै गएका छन् ।’
कार्यालय प्रमुख खनालको निर्देशनमा कार्यालय सहयोगी प्रमिलाले नाबालिकासँग गरेको कुराकानी (अडियो) जनआस्थासँग सुरक्षित छ । उक्त अडियोको सम्पादित अंशः
प्रमिलाः सर (खनाल)ले तिमिसँग बस्न खोज्नुभएको छ, तिमीलाई खर्च पनि दिनुहुन्छ रे, पछि गएर तिमीलाई के चाहिन्छ, त्यो सबै पुरा गर्दिन्छु भन्नुभएको छ ।
नाबालिकाः हो र ?
प्रमिलाः अरुलाई थाहा हुँदैन पो ! बाहिर गएर बस्ने हो । तिमीलाई पछि पछि गेमहरु पनि मिलाइदिनुहुन्छ । तर कसैसँग भन्ने होइन नि यो कुरा ।
नाबालिकाः अँ हुन्छ...
प्रमिलाः सम्बन्ध राखेपछि बच्चासच्चाको टेन्सन पनि लिनुपर्दैन, सरले आफै औषधी किन्दिन्छु भन्नुभएको छ । बाहिर जत्ति चोखो पल्टे पनि अचेल कोही चोखो हुँदैन । कोही चोखो हुन्छन् र ? मैले फलानोसँग सुतेको छु भन्दै पो हिँड्दैनन् त !
नाबालिकाः खै !
प्रमिलाः तिमी त मनले खाको भएर पो सरले भन्नुभएको । तिम्रो इच्छा भए भन, नराम्रो केही हुँदैन, सरले लिएर जानुहुन्छ ।
नाबालिकाः कहाँ लैजानुहुन्छ ?
प्रमिलाः सरले लगिहाल्नु हुन्छ नि बस्ने ठाउँमा !
नाबालिकाः भनेपछि म चाहिँ सरसँग सुत्नुपर्ने ?
प्रमिलाः कस्तो सिधा छौ के तिमी (हाँस्दै) ! यस्तो भनेपछि बुझ्नु नि । सरले तिमीले मन पराउनुभएको छ के । पछि पछिको लागि पनि तिमीलाई राम्रो हुन्छ ।
नाबालिकाः खै, के हो...
प्रमिलाः तिमीले फेरि कोहीसँग भन्ने हैन नि ! उहाँले बाइकमा हालेर बस्ने ठाउँमा लग्नुहुन्छ । लभडाडामा लग्नुहुन्छ कि, त्यही कतै बसेर रमाइलो गर क्या तिमीहरु ।
नाबालिकाः सरको नाम के रे ?
प्रमिलाः बालकुमार खनाल, हाकिम साप हो के।
नाबालिकाः उहाँको आईडी छैन ?
प्रमिलाः छ नि ! आईडी हुन्न त हाकिमजस्तो मान्छेको । यस्तो मान्छेसँग बस्नुपर्छ क्या ! को चोखो हुन्छ र आजकालको जमानामा ! सबैलाई चाहना हुन्छ ।
नाबालिकाः मलाई त केही थाहा छैन त्यस्तो !
प्रमिलाः तिमीलाई सुरुमा गाह्रो होला, विस्तारै तिमीलाई थाहा भैहाल्छ के, तिमी डराउनु पर्दैन ।
नाबालिकाः उहाँको त बुढी छ हैन र ? बुढीले थाहा पायो भने ?
प्रमिलाः कहाँ त्यस्तो हुन्छ ! थाहा हुँदैन ।
नाबालिकाः अँ...
प्रमिलाः बैनीहरुलाई नभन है यो कुरा । तिम्रो पनि नराम्रो हुन्छ, तिमीले जे चाहन्छौ, त्यो सरलाई सुटुक्क भन, दिनुहुन्छ ।
नाबालिकाः पछि मैले छोड्न मिल्छ ?
प्रमिलाः अँ मिलिहाल्छ नि ! तिमीले प्रेम गर्ने होइन क्या । एक दुई चोटी बसेपछि तिम्रो मर्जी हो नि !
नाबालिकाः ए...
प्रमिलाः यस्तो कुरा फेरि जसलाई पनि चाहना हुन्छ क्या मिन्स भएपछि...
नाबालिकाः मलाई त भएको छैन अनि ?
प्रमिलाः हो र ? तिमीलाई मिन्स भएको छैन ? त्यस्तो गरेको छैनौ ?
नाबालिकाः नाइँ..
प्रमिलाः गरेको चाहिँ छैन, तर गर्न मन लाग्छ होला हैन ?
नाबालिकाः त्यस्तो कुरा थाहै छैन के मलाई अनि...
प्रमिलाः विस्तारै थाहा हुन्छ अब, सरसँग सुतेपछि सबै थाहा पाउँछौ ।
नाबालिकाः खै !
प्रमिलाः तिम्रो इच्छा हो, के भन्छौ त ? भन त..
नाबालिकाः खै के गर्ने !
प्रमिलाः बस न त, एक्लै आउ, साथीहरुलाई केही नभन । तिमीलाई सरले कहाँ बोलाउनुहुन्छ, त्यही जाउ । नभए उहाँ आफैं तिमीलाई लिन आउनुहुन्छ ।
टिप्पणीहरू