सौर्य विमान दुर्घटनाको थप छानविन गर्ने संकेत

सौर्य विमान दुर्घटनाको थप छानविन गर्ने संकेत

सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानविन समिति बनाउने संकेत सरकारले गरेको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उक्त विमान दुर्घटनाको थप अनुसन्धान गर्न न्यायिक समितिको आवश्यकतामा जोड दिएका हुन् । आज बसेको समिति बैठकमा  उनले यस घि सांसदहरुले राखेका धारणा र समितिको निर्देशनअनुसार त्यस्तो समिति बनाउनुपर्ने आवश्यकता देखिएको बताए । 

अहिलेको छानविन आयोगले जहाजको सेफ्टी र प्राविधिक पक्षका बारेमा मात्रै अनुसन्धान गरेकाले न्यायिक निष्कर्ष निकाल्न आवश्यक देखिएको मन्त्री पाण्डेले बताए । न्यायिक छानविन समिति बनाउन मिल्ने हो की होइन भन्ने कुराको निक्र्यौलमा छिटै सरकार पुग्ने पनि उनले समितिलाई अवगत गराए । 

बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा छलफल आवश्यक पर्ने उनको भनाइ छ । मन्त्री पाण्डेले प्रश्न उठिसकेपछि यत्तिकै छोड्न नहुनेमा सरकार सचेत रहेको प्रष्ट पारे ।

‘सौर्य एयरलाइन्स दुर्घटना र त्यो दुर्घटनाले उजागर गरेका विषयवस्तु र दिगो समाधानका बारेमा धेरै पटक छलफल गरिसकेका छौँ । मेरो बुझाइ के छ भने सेफ्टी इन्भेष्टीगेसन भएको र न्यायिक विषयसँग सम्बन्धित केही कन्ट्यारडिक्शन छ की भन्ने जस्तो किसिमले हामी छलफलमा अघि बढेका छौँ । हाम्रो मन्त्रालय र मन्त्रालयसँग जोडिएको क्यान, छानविन समिति साधन श्रोतको कमी छ । कतिपय छानविनका लागि विदेश जानुपर्छ । तर पनि काम गर्नुभएको छ । उहाँहरुसमेतलाई राखेर काम गर्नुपर्छ । न्यायिक छानविन समिति बनाउन मिल्ने हो की होइन भन्नेकुराको निक्र्यौलमा पुग्ने, बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा छलफल गर्दछौँ । यत्तिकै यसलाई छोड्नु हुँदैन, निष्कर्षमा पुग्नुपर्छ । निष्कर्षमा पुगेर अघि बढौँ ’, मन्त्रीले भने । 

गत वर्ष साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटना हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा पाइलट मनिष शाक्य बाँच्न सफल भएका थिए । 

दुर्घटना भएकै दिन सरकारले नागरिक उड्डययन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले हालै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । तर, मृतकका परिवारले प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् ।
 

टिप्पणीहरू