विपिनको अवस्था अझै अज्ञात : परराष्ट्र मन्त्रालय
प्यालेष्टाइनी लडाकू समूह हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारको तर्फबाट यथेष्ट र प्रभावकारी पहल भएको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयले विपिनलाई नेपाल फर्काउन सम्भव भएसम्म सबै कूटनीतिक पहल गरिएको स्पष्ट पार्दै परिणाम प्राप्त हुन नसकेकोमा दुःख व्यक्त गरेको छ ।
विपिनको रिहाइको माग गर्दै देशभित्र विभिन्न समूहले प्रदर्शन गरिरहेको र उनकी आमा तथा बहिनी इजरायल पुगेको सन्दर्भ उल्लेख गर्दै परराष्ट्रले जारी गरेको विज्ञप्तिमा यस्तो प्रतिक्रिया जनाइएको छ । विपिनलाई छुटाउन राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको तहबाट सबै प्रयास भएपनि सबै असफल भएको विज्ञप्तिमा उल्लेख छ ।
‘सम्माननीय राष्ट्रपतिज्यूले जर्मनीको भ्रमणमा रहँदा समकक्षी र नेपालको राजकीय भ्रमणमा आउनुभएका कतारी समकक्षीसँग विपिनको रिहाइको लागि पहल र पहुँच बढाइदिन अनुरोध गर्नुभएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले गत मार्च र अप्रील महिनामा इजिप्ट र टर्कीका महामहिम राष्ट्रपतिहरूसँग टेलिफोन सम्वाद गरी निज विपिन जोशीको अवस्था पहिचान तथा शीघ्र रिहाइका लागि उहाँहरूको सहयोग र सद्भावको लागि अनुरोध गर्नुभएको थियो ।’
सभामुख देवराज घिमिरेले पनि अरबका समकक्षीसँग सहयोग मागेको परराष्ट्रले प्रष्ट्याएको छ । त्यस्तै परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले विभिन्न अन्तर्राष्ट्रिय फोरमको उपयोग गर्दै विपिनको रिहाइका लागि प्रयत्न गर्दै आएको जनाएको छ ।
‘सभामुख देवराज घिमिरेज्यूले अरब संसदका आफ्ना समकक्षीलाई पत्राचार गरी निज जोशीको रिहाइका लागि उहाँको समर्थन र सहयोगको लागि अनुरोध गर्नुभएको थियो’, विज्ञप्तिमा लेखिएको छ, ‘परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाज्यूले पनि उपलब्ध सबै द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूलाई उपयोग गर्दै विपिनको रिहाइका लागि इजरायल र हमासबीच मध्यस्थकर्ताको रुपमा सक्रिय मुलुकहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका आफ्ना समकक्षी तथा उच्च अधिकारीहरू र इरान तथा टर्कीका समकक्षीलाई आफ्नो तहबाट सहयोग र सद्भाव जुटाइदिन टेलिफोन, पत्राचार तथा भौतिक रुपमा भेटघाट, बैठक र कुराकानी गरी अनुरोध गर्नुभएको छ।’
सरकारले उच्चस्तरीय संयन्त्रमार्फत् विपिनलाई नेपाल फर्काउने प्रयास गरे पनि उनको अवस्थासमेत थाहा पाउन नसकिएको मन्त्रालयले जनाएको छ । थप भनिएको छ, ‘यी सबै प्रयासका बाबजुद निज विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ ।’
टिप्पणीहरू