भियतनामी उपराष्ट्रपति नेपाल आउँदै
भियतनामका उपराष्ट्रपति भो थि आन्ह जुआन नेपाल आउन लाग्नुभएको छ । तीनदिने औपचारिक भ्रमणका लागि उहाँ पर्सि शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपाल आउन लाग्नुभएकी जुआनको उच्चस्तरीय भेटवार्ता हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उहाँले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि शिष्टाचार भेट गर्नुहुनेछ ।
भ्रमणका दौरान उहाँले काठमाडौँका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलको अवलोकन गर्ने कार्यक्रम पनि निर्धारण गरिएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भियतनामी उपराष्ट्रपति जिआनले बौद्वनाथ, स्वयम्भुनाथ र पाटन दरवार स्क्वायरको अवलोकन भ्रमण गर्नुहुनेछ ।
उहाँको स्वागत र सुरक्षाका लागि सरकारले विशेष महत्व दिएको छ । शनिबार नेपाल आइपुग्दा र सोमबार स्वदेश फर्कँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष उपलब्ध गराइने छ । उहाँको मुकाम सोल्टी होटलमा रहनेछ ।
नेपालको औपचारिक भ्रमण सकेर भियतनामी उपराष्ट्रपति भदौ ९ गते सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू