ओली र देउवाको कार्यशैलीप्रति गगन थापा आक्रोशित
सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार संचालनमा प्रधानमन्त्री केपी शर्मा ओलीको ढंग नपुगिरहेको टिप्पणी गरेका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको नेतृत्व मूल उद्धेश्यबाट बरालिंदै जाँदा आम नागरिकका वितृष्णा बढेको बताए । प्रधानमन्त्री ओलीले गाडी राम्रोसँग चलाउन नसकिरहेको भन्दै थापाले सभामुखमार्फत् सरकारकाे ध्यानाकर्षण गराए ।
‘हाम्रा साथीहरु पनि मन्त्री हुनुहुन्छ, प्रदेशमा मुख्यमन्त्री हुनुहुन्छ, हामी एउटै गाडीमा छौ, तर तर स्टेरिङ्ग जस्तो हातमा छ उसले गाडी राम्रो चलाइरहेको छैन’, उनले असन्तुष्टि पोखे, ‘कम्तिमा स्टेरिङ्ग हातमा लिएको मान्छेले राम्रोसँग चलाउनुपर्यो नि !, फोकस गर्नुपर्यो, दायाँबायाँ गर्नुभएन, ढलपल गर्नुभएन, दुर्घटना हुनुभएन, तर संख्या छ भनेर, हातमा स्टेरिङ्ग छ भनेर कहिले गाडी घ्याच्च रोक्या छ, कहिले भिरालोमा हाल्या छ, फोकस नै छैन, यस्तो लापरवाही गर्न मिल्छ ?’
महामन्त्री थापाले प्रधानमन्त्री ओली र आफ्ना पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै गाडी ठिक ढंगले हाँक्न सुझाव दिए । भने, ‘सरकार गठन भएको सुरुको दुई तीन महिनाजति हामीमा जुन उर्जा थियो, त्यो फेरि ल्याउनुपर्ने भएको छ । हामीले हाम्रो गति बिरायौँ, फेरि लयमा ल्याउनुपर्नेछ । हाम्रो फोकस बिग्रियो, जसले नेतृत्व गरेको छ, उसको ढंग पनि पुगेको छैन ।’
दुई पार्टीबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा सिन्कोसमेत भाँच्न नसकेको स्वीकार गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीको ध्यानाकृष्ट गराए ।
‘गत वर्ष असार १७ गते दुई पार्टीबीच सात बुँदे सहमति भयो, त्यसको भोलिपल्ट मिडियाबाट मैले पनि थाहा पाएँ, मलाई पहिल्यै थाहा थियो भनेर म फुर्ती लगाउन चाहन्न’, उनले थपे, ‘त्यो बुँदाको पहिलो नम्बरमा के छ त भन्दा राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गछौँ, तर हामीले सिन्का पनि भाँचेका छैनौँ । संविधान संशोधनको प्रक्रिया सुरु भएपछि संख्या नपुग्ला, अर्कै कुरा हो, तर हामीले त्यस तर्फ कदम अघि बढाउनु पर्दैनौ ? नागरिकसँग गरिएको वाचालाई अनदेखा गर्न पाउँछौ ? ’
टिप्पणीहरू