उता प्रदर्शनी, यता विधेयक पारित गर्ने तयारी

उता प्रदर्शनी, यता विधेयक पारित गर्ने तयारी

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरुले आजदेखि आन्दोलन थालेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनको अगुवाईमा राजधानीको माइतीघर मण्डलामा आन्दोलन शुरु गरिएको छ ।

आन्दोलनमा ठूलो संख्यामा निजी विद्यालयका सञ्चालकहरुको उपस्थिति रहेको छ । उनीहरुले ‘गैरनाफामूलक चाँहिदैन, कम्पनी मास्न पाइँदैन’,‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’,‘गुणस्तरीय शिक्षा निजी विद्यालयको प्रतिबद्धता’,‘समग्र शिक्षाको विकास, राष्ट्र निर्माणको आधार’,‘बालमैत्री शिक्षा, नेपाली जनताको अपेक्षा’,‘पूर्ण छात्रवृत्रि लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’,‘१५ प्रतिशत छात्रवृत्ति खारेज गर’,लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् ।

निजी विद्यालयहरुले विधेयकमा प्रस्तावित ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइनेछ’ भन्ने वाक्यांशप्रति आपत्ति जनाउँदै आएका छन् । उनीहरुले सो खारेज गर्नुपर्ने, हाल अभ्यासमा रहेको कूल विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रवृत्तिअन्तर्गत भर्ना, वार्षिक र मासिक पढाई शुल्क कायम गर्नुपर्ने माग राखेका छन् ।

आजदेखि दोस्रो चरणको आन्दोलन शुरु गरेका निजी विद्यालयहरुले भोलि बिहान ११ बजे देशैभरका स्कुलबसहरू विद्यालय नजिकका चोकमा उतारी नगर परिक्रमा गर्ने र काठमाडौं उपत्यकाको २७ किमी चक्रपथ वरिपरि स्कुलबसहरूले कालो झण्डा र व्यानरसहित र्याली निकाल्ने जानकारी दिएका छन् ।

त्यसैगरी, दिँउसो १ बजे माइतीघरमा भेला भई संघीय संसद् र शिक्षा समितिको कार्यालय घेराउ गर्ने जनाइएको छ । भदौ ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने चेतावनी दिइएको छ । यता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज विधेयक पारित गर्ने तयारी गरेको छ । एक सदस्यका अनुसार हाल विधेयकउपर अन्तिम चरणको छलफल भइरहेको छ ।

सो विधेयक आजै समितिबाट पारित गरिने ती सदस्यको भनाइ छ ।
 

टिप्पणीहरू