पूर्व रास्ट्रपतिलाई एमालेको पीर
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राजनीति शुरु गर्दा नेकपा (एमाले) पार्टी नै नजन्मिएको बताउनुभएको छ । आज मदन भण्डारी हिरक जयन्ती मूल समारोह समितिको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले माले र मार्क्सवादीकाे एकताबाट एमाले (एकीकृत मार्क्सवादी-लेनिनवादी) बनेको जानकारी दिनुभएको हो ।
हालै सक्रिय राजनीतिमा फर्किनुभएकी भण्डारीले नेपालका पूर्वी जिल्लाहरुबाट एमालेको विजारोपण भएको बताउनुभयो । ‘म राजनीतिक दलसँग आबद्ध भएर हामी शुरु हुँदा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन’,उहाँले भन्नुभयो, ‘म भोजपुरमा जन्मिएँ, धनकुटामा रातो झण्डा भन्ने एउटा समूह थियो,हामी त्यसको सम्पर्कबाट अघि बढेका हौँ,पछि कोर्डिनेशन केन्द्र जन्मियो,विस्तारै त्यो माले भयो ।’

मार्क्सवादी पार्टीसँग एकतापछि बल्ल एमाले बनेको पनि भण्डारीले स्मरण गर्नुभयो । अघि भन्नुभयो, ‘मार्क्सवादी भन्ने छुट्टै पार्टी थियो,माले भन्ने छुट्टै थियो, माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी भएको हो ।’
नेकपा एमाले अहिले भयो,तर मैले माले कालदेखि नै सदस्यता लिएको हुँ, ०३७ सालमै लिएको आज ४५ वर्ष भएछ, राष्ट्रपतिको शपथ खाँदा ३५ वर्ष भएको थियो।
आफूले जीवन व्यतित गरेको पार्टीमा रोक लगाइएकोमा भण्डारीको दुखेसो पनि छ । तर,नमर्दासम्म आफू एमालेकै कार्यकर्ता रहने अठोट उहाँले सुनाउनुभयो । ‘हुन त मेरो सदस्यताको बारेमै प्रश्न उठेको छ,तर पनि साथीहरू नेता भन्छन्, मेरो संगठित सदस्यतामै प्रश्न उठायाे च्यासलले’, उहाँले थप्नुभयो, ‘यसबारेमा म चाहिँ के भन्न चाहन्छु भने नेकपा एमाले अहिले भयो,तर मैले माले कालदेखि नै सदस्यता लिएको हुँ, ०३७ सालमै लिएको आज ४५ वर्ष भएछ, राष्ट्रपतिको शपथ खाँदा ३५ वर्ष भएको थियो।’

त्यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्रैबाट मदन भण्डारीको जबज (जनताको बहुदलीय जनवाद)लाई नोक्सानी पुर्याउने काम भइरहेको बताउनुभएको छ । त्यस प्रयासलाई मदन भण्डारी फाउन्डेशनले रोक्नुपर्नेमा उहाँको जोड छ । ‘यो विचार कुनै मौसमी हिसाबले निर्माण भएको होइन,त्यसको गहन पृष्ठभूमि छ’, उहाँले भन्नुभयो, ‘जबज मदनले अघि सार्दा उहाँमाथि चौतर्फी प्रहार भएका थिए, पछिल्लो समय यो विचारमाथि अनेक ढङ्गले हमला भए, पार्टीभित्रबाटै हमला र कटाक्ष गर्ने काम भए, त्यसलाई फाउन्डेशनले जवाफ दिने प्रयास गर्नुपर्छ ।’
आजको कार्यक्रम सानो भए पनि ठूलो सन्देश दिएको पोखरेलको निष्कर्ष छ । ‘यो कार्यालय आउने दिनमा मदनका योगदान र भूमिका आम नेपाली जनता तथा विश्व रङ्गगमञ्चमा पुर्याउने उध्देश्यले स्थापना गरेको मैले बुझेको छु, झट्ट हेर्दा सानो तर महत्वका हिसावले ठूलो सन्देश दिएको छ’, उहाँले थप्नुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनको जग र अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको दर्शनबाट मदनले जबज प्रतिपादन गरेको पोखरेलले सुनाउनुभयो ।
कार्यक्रममा एमाले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली,स्थायी कमिटी सदस्य कर्ण थापालगायत दर्जनौ नेता र सयौँ शुभचिन्तको सहभागिता थियो ।
टिप्पणीहरू