अनैतिक गतिविधिमा संलग्नविरुद्ध मुद्दा, होटल मालिकहरु हिरासतमा
चितवन जिल्ला प्रहरी कार्यालयले होटल र रेष्टुरेन्टमा यौनजन्य अनैतिक गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिएर मुद्दा दायर गरेको छ । प्रहरी प्रमुख एसपी गोबिन्द पुरीका अनुसार विशेष सूचनाका आधारमा केही दिनअघि नारायणगढ बजारस्थित पोखरा बसपार्क क्षेत्र वरपरका होटल–रेष्टुरेन्टमा प्रहरीले छापा मारेको थियो ।
सो क्रममा शंकास्पद अवस्थामा भेटिएका २० जना महिला–पुरुषलाई नियन्त्रणमा लिइएकोमा निर्दोष देखिएका पाँच जनालाई छाडेर १५ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको डीएसपी रबिन्द्र खनालले जानकारी दिए । पक्राउ परेकामध्ये तीन जना होटल मालिक हुन् । हाल उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वेश्यावृत्तिलाई मानव बेचबिखनकै रूपमा पनि व्याख्या गरिन्छ । तर, त्यस्ता होटल मालिकविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन पीडित आफैंले जाहेरी दिन नमान्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । वेश्यावृत्तिमा लगाउने वा वेश्यागमन दुवै कार्य मानव बेचबिखन अन्तर्गत पर्ने नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी नरेन्द्र कुँवरले बताए । उनका अनुसार, ‘यसमा यौन शोषण र श्रम शोषण दुवै पाटा छन्।’
यौनजन्य अपराधका घटना भने होटल–रेष्टुरेन्टभन्दा बढी घरभित्रै हुने गरेको अधिकारीहरूको भनाइ छ । सरकारी वकिल र प्रहरी अधिकारीका अनुसार महिला, किशोरी र बालिका आफ्नै नजिकका आफन्त वा चिनेजानेकाबाट बढी शोषणमा पर्ने गरेका छन् । चितवनमै आफ्नै बाबुको जबरजस्ती करणीपछि छोरीले बच्चा जन्माएको घटना उजागर भएको थियो ।
हालै एक विद्यालय शिक्षकले छात्रालाई यौन प्रभावमा पार्न आफ्नै श्रीमतीसँगको यौन क्रियाकलापको भिडियो पठाएको घटना समेत खुलेको माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले जानकारी दिए ।
टिप्पणीहरू