शिक्षकहरू फेरि सडकमा, चरणवद्ध आन्दोलन घोषणा

शिक्षकहरू फेरि सडकमा, चरणवद्ध आन्दोलन घोषणा

संसदीय समितिबाट पारित विद्यालय शिक्षक विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ ।

आज विज्ञप्ति सार्वजनिक गर्दै महासंघले यही भदौ ९ गतेबाट चरणवद्ध आन्दोलन थाल्ने बताएको हो । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विधेयकलाई अन्तिम टुंगोमा पुर्याएपनि विगतका सहमति पूर्णरुपमा सम्बोधन नगरिएको महासंघको ठहर छ । 

महासंघका अनुसार विधेयकमा स्थायी शिक्षकको आवधिक बढुवा, म्याद सकिएका अध्यापन अनुमति पत्रको अवधि थप, विद्यालय कर्मचारीको पद र बेतनको सुनिश्चितता, अस्थायी तथा करार शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धा तथा शिक्षण काउन्सिलको व्यवस्थाजस्ता महत्त्वपूर्ण विषय समावेश भएका छैनन् । 

सम्बोधन हुन छुटेका सबै विषय सहमतिबमोजिम विधेयकमा समावेश गर्न गराउन आन्दोलनमा जानुबाहेक कुनै विकल्प नभएको जनाउँदै महासंघले आन्दोलन गर्ने निर्णय भएको जनाएको छ । 

जसअन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री तथा राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ । ११ गतेदेखि २० गतेसम्म केन्द्रका सबै पार्टी कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएर त्यही दुई घण्टा धर्ना दिने, १३ गते सबै पालिका र १५ गते जिल्ला समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाई एक घण्टा भर्ना दिने कार्यक्रम छ । 

यस्तै, भदौ २१ गते भने दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने र यसमा अवरोधात्मक, विरोध प्रदर्शनलगायत कडा कार्यक्रम ल्याइने महासंघको ठहर छ ।
 

टिप्पणीहरू