प्रवेशपत्रमा गडबडी गरेको विद्यालयको अर्को कर्तुत
राजधानीको धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयले कक्षा ११ को नक्कली ग्रेडसिट बनाएको खुलेको छ । कक्षा १२ मा नक्कली परीक्षार्थी खडा गरेको अभियोगमा दोषी ठहर भएका स्कुलका प्रिन्सिपल गोपालबहादुर महतले कक्षा ११ मा नक्कली ग्रेडसिट तयार गरेको पाइएको हो ।
सो विद्यालयबाट परीक्षा नै नदिएको विद्यार्थीको कक्षा ११ को ग्रेडसिट निकालिएको भेटिएको छ । सिम्बोल नम्बर ७६५४८००९ भएका विद्यार्थी प्रशान्त विष्टले परीक्षा नै नदिईकन ‘बी प्लस’ ल्याएका छन् । कक्षा १० सम्म सो विद्यालय पढेका प्रशान्तले कक्षा ११ र १२ साइपाल माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका हुन् । कक्षा १२ मा आफ्नो दोहोरो रजिष्ट्रेशन भएको थाहा पाएपछि प्रहरीकहाँ पुगेका उनको उजुरीपछि प्रोलिफिकको गलत धन्दाको भण्डाफोर भएको हो ।
रोचक प्रसंग के भने, प्रोलिफिकमा प्रशान्तको रजिष्ट्रेशन फाराममा टाँसिएको फोटोसमेत अर्को व्यक्तिको हो । सोही विद्यालयमा पढेका विद्यार्थी लोकबहादुर भण्डारीले आफ्नो फोटो दुरुपयोग भएको भन्दै प्रहरी वृत्त, महाराजगञ्जमा जाहेरी नै दिएका थिए । यता, प्रालिफिकले कक्षा १२ को परीक्षामा पाँच जना नक्कली परीक्षार्थी खडा गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी पनि पर्यो ।
२०८१ वैशाख २ गते उजुरी दर्ता भएकोमा मन्त्रालयले सो उजुरीमाथि अनुसन्धानका लागि राष्ट्रिय परीक्षा बोर्डको प्रवेशपत्र शाखा पठायो । शाखाले काठमाडौं महानगरपालिकालाई आवश्यक अनुसन्धानका निम्ति पत्राचार गर्यो । यता, बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले कक्षा ११ को रजिष्ट्रेशन फाराम र परीक्षा आवेदन फर्ममा प्रयोग भएको तस्बिर शंकास्पद देखिएकोमा सत्यतथ्य विवरण उपलब्ध गराउन भन्दै वैशाख ३ गते प्रोलिफिकलाई पत्र लेख्यो ।
तर, विद्यालयले जवाफ नपठाएपछि पुनः वैशाख १३ गते पत्राचार गरिएको हो । वैशाख ४ गते जवाफ पठाइएकोमा दुई जनाको फोटो फरक परेको स्पष्टीकरण दिइएको छ । दर्ता नम्बर १६८ भएको पत्रमा लेखिएको छ,‘प्रशान्त विष्ट र विकेश न्यौपानेको फोटो फरक परेको, मुकेश चन्दको फोटो एउटै व्यक्तिको हो तर हेर्दा मात्र फरक देखिएको (कारण फरकफरक समयको फोटो भएकोले) र चौथो विद्यार्थी तिलबहादुर महतको पनि फरकफरक समयको फोटो भएकोले केही फरक देखिएको हो ।’
दिपक महत र तिलबहादुर महत विद्यालयका प्रधानाध्यापक महतका सहोदर भाइ हुन् । लामो समयदेखि विदेशमा रहेका उनीहरुले १२ पास नगरेकाले नक्कली परीक्षार्थी खडा गरिएको हो । अन्यको हकमा सर्टिफिकेट बेच्न खोजिएको हुनसक्ने अनुमान जानकार स्रोतको छ । यता, बोर्डले साइपाललाई प्रशान्तको वास्तविक अध्ययन पुष्ट्याइँ गर्न भन्दै पत्र पठाएको थियो ।
जसमा साइपालका प्रिन्सिपल गणेश जोशीले उनले कक्षा ११ र १२ नै आफ्नो विद्यालयमा पढेको बताएका छन् । त्यसलाई पुष्टि गर्नका निम्ति उनले विद्यालयलाई गरेको भुक्तानीको रसिदहरु पनि उपलब्ध गराएका छन् ।
नक्कली ग्रेडसिटमा क–कसको हात ?
नक्कली परीक्षार्थी खडा गर्ने प्रिन्सिपल महतलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरिसकेको छ । काठमाडौं महानगरपालिका समेतले दायर गरेको मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले गत भदौ ७ गते सुनाएको फैसलाको पूर्णपाठ तयार भएको छ । जसमा भनिएको छ,‘प्रतिवादी गोपालबहादुर महतको बयान, उमेर, कसूरको प्रवृत्ति, पटके कसूरदार नरहेको समेतका आधारबाट निजलाई अभियोग दाबी मुलुकी अपराध संहिता, २७६ को (३)(ग) अनुसार कैद ६ महिना र जरिवाना रु. पाँच हजार हुने ठहर्छ ।’
तर, नक्कली ग्रेडसिट बनाएको अभियोगमा छानबिन नै भएको छैन । नक्कली ग्रेडसिट बनाउने कार्यमा प्रिन्सिपल महत, कक्षा ११ र १२ को कोर्डिनेटर वन्दना पौडेल, विषयगत शिक्षकहरुको हात रहेको स्रोतको ठोकुवा छ । वन्दना र महतको हस्ताक्षर भएको नक्कली ग्रेडसिट जनआस्थाले फेला पारेको छ । उनीहरुमाथि संगठित अपराध र अपराधिक लाभको कसुरमा अनुसन्धान भएर मुद्दा चल्नुपर्ने कानुनका ज्ञाताहरु बताउँछन् ।
देखावटी निमित्त प्रिन्सिपल
कम्प्युटर शिक्षक सरोज न्यौपाने हाल विद्यालयको निमित्त प्रिन्सिपल छन् । महत उनलाई जिम्मेवारी दिएर आफू तत्कालका लागि विद्यालयबाट अलग्गिएका हुन् । अदालतबाट दोषी ठहर भएपछि पनि प्रिन्सिपल महतले सोही जिम्मेवारीमा रहेर काम गरिरहेका थिए । सो विषयमा जनआस्थाले समाचार प्रकाशित गरेपछि उनले पद छोडेका हुन् । न्यौपाने देखावटी प्रिन्सिपल मात्र भएको स्रोतको दावी छ । महतले भनेअनुसार उनले काम गर्दै आएको स्रोत बताउँछ ।
विद्यालयलाई महानगरको साथ
स्रोतका अनुसार महानगरले विभिन्न उपाय अपनाएर उक्त विद्यालयलाई जोगाउँदै आएको छ । प्रोलिफिकमाथि छानबिनका लागि मन्त्रालयले गत माघ १८ गते राष्ट्रिय परीक्षा बोर्ड र काठमाडौं महानगरपालिकालाई एउटै व्यहोराको छुट्टाछुट्टै पत्र पठाएको थियो । दुवै पत्रको चलानी नम्बर १९३ रहेको छ ।

सो पत्रमा लेखिएको छ,‘यस मन्त्रालयमा माननीय मन्त्रीज्यूलाई सम्बोधन गरी दोहोरो रजिष्ट्रेशन गरी विद्यार्थी उत्तीर्ण गरेको तथा गैरकानुनी तवरले विद्यालय गाँभ्ने र कसुरवार ठहर व्यक्ति प्रधानाध्यापक भएकोले रोकिपाउँ भनि विषयमा ...ले दिएको निवेदन र निवेदनसँग संलग्न पाना थान ७ कागजात आवश्यक कार्यार्थ त्यहाँ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’
माघ १८ गते सो पत्र सिंहदरबार हुलाकबाट निस्किएको देखिन्छ । माघ २० गते महानगरका कर्मचारी कमल पौडेलले सो पत्र बुझेका छन् । तर, महानगरसँग अहिले त्यो पत्र छैन । पत्र नै गायव पारिएको स्रोतको जिकिर छ । स्रोतका अनुसार महानगरले जानाजान सो पत्र लुकाएको हो । विद्यालयका प्रधानाध्यापकलाई जोगाउनका लागि महानगरले त्यसो गरेको स्रोतको भनाइ छ ।
स्रोत भन्छ,‘मन्त्रालयले एउटै पत्र दुवै निकायमा पठाएको थियो । महानगरले सो पत्र बुझेको पनि छ । तर, अहिले महानगरसँग त्यो पत्र छैन । स्कुलमाथि महानगरले अहिलेसम्म कुनै कारबाही अगाडि बढाएको छैन ।’
विद्यालयको स्वीकारोक्ति
प्रोलिफिकले प्रशान्त नक्कली विद्यार्थी भएको स्वीकारोक्ति गरेको छ । प्रदेश परीक्षा बोर्डको कार्यालयमा प्रोलिफिकले गत जेठ ४ गते पठाएको पत्रमा प्रशान्तले अन्य कलेजबाट कक्षा ११ र १२ पढेको स्पष्ट उल्लेख छ । दर्ता नम्बर १८८ भएको पत्रमा भनिएको छ,‘आउला भनि भर्ना रजिष्ट्रेशन गरिदियौं, शुल्क रकम हाम्रो विद्यार्थी हो आउला भनि अगाडि बढायौं तर उसले अरु नै कलेजमा ए लेबल केही समय पढेको र फेरि एनईबी ११–१२ पढेको कुरा हामीलाई धेरैपछि मात्र थाहा हुन आयो निज विद्यार्थी अरु नै कलेजबाट पास गरेको र टिएमपीसमेत लगेको साथै निज विद्यार्थीको फोटो २०८१ सालको कक्षा १२ को परीक्षामा फोटो अर्कै विद्यार्थीको नाममा टाँसिएको विषयले म सजाय भएको र हाल सोही मुद्दाबाट उक्त मुद्दा फैसला विचाराधीन अवस्थामा अदालतमा रहेको समेत जानकारी गराउँदछु ।’
‘पाँच जनाको परीक्षा रद्द गर्यौं’
प्रदेश परीक्षा कार्यालयको प्रमुख जयन्ती सत्यालले नक्कली परीक्षार्थी भेटिएपछि पाँच जनाको परीक्षा रद्द गरेको जानकारी दिइन् । रजिष्ट्रेशनमा प्रधानाध्यापकले निकै नै ‘फर्ड’ काम गरेको भेटेको उनले जानकारी दिइन् । जनआस्थासँग उनले भनिन्,‘१२ मा त्यस्तो भएको छ भने ११ त स्कुलले नै लिने हो । त्यसमा बद्मासी नहोला भन्न सकिन्न ।’
‘हाम्रो चरित्रहत्या गर्न खोजियो’
जिल्ला अदालतबाट दोषी ठहरिएका प्रोलिफिकका प्रधानाध्यापक महतले केही व्यक्तिले आफ्नो र विद्यालयको चरित्रहत्या गर्न खोजेको बताए । विद्यालयको सँधै असल नियत भएको उनको दावी छ । कक्षा १२ को परीक्षामा पनि सामान्य प्राविधिक त्रुटि भएको उनी बताउँछन् ।
जबकि, प्रदेश कार्यालयले पाँच जनाको रजिष्ट्रेशन नम्बर रद्द गरेको छ । प्रशान्तले सो स्कुलबाट ११ को परीक्षा दिएको हो भनि प्रश्न गर्दा उनले भने,‘प्रशान्तको कुरा क्लोज भइसकेको छ । यो कुरा फेरि नदोहोर्याउनुस् ।’
उनले परीक्षा दिए–नदिएको स्पष्ट रुपमा भन्न सकेनन् । प्रशान्तले भर्नाचाँहि गरेको प्रधानाध्यापक महत बताउँछन् ।
टिप्पणीहरू