सुनिल पौडेललाई धरौटीमा छाड्न आदेश

सुनिल पौडेललाई धरौटीमा छाड्न आदेश

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई धरौटीमा रिहा गर्न आदेश भएको छ । विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुवँर, विदुर कोइराला र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलालले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

पौडेल केन्द्रको तत्कालीन कार्यकारी निर्देशक रहेको बेला खरिद गरिएका मुख्य उपकरणको प्रविधि विवरणहरू अनलाइनमा प्राप्त विवरणसँग मिल्न गएको र अनलाइनमा उल्लेखित मूल्यसूचीभन्दा बढीमा खरिद गरेको पाइएको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ५ गते भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । 

केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायकलाई समेत विपक्षी बनाइएको मुद्दामा जनही पाँच करोड ७९ लाख बिगो दाबी गरिएको थियो । तर अदालतले पौडेललाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले पुष्टी गरे । ‘भर्खर एक लाख धरौटीमा छाड्ने आदेश आएको छ’, उनले जनआस्थासँग भने । 

नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका पौडेल ०८० माघ पहिलो साता पक्राउ परेका थिए । उनीविरुद्ध विशेष अदालतमै भ्रष्टाचारका थप दुई मुद्दा विचाराधीन अवस्थामा छन् ।

टिप्पणीहरू