मन्त्रीको गल्तीले छोरा मर्ने,५ लाखले आमाको मुख टाल्ने ?
मन्त्रीको अवैध बालुवा उत्खननले बालकको गयो ज्यान,पीडितलाई फकाउन आर्थिक प्रलोभन । यो घटना हो,गत साउन १७ गतेको । बैतडीको डिलासैनी गाउँपालिका–३,गिरीबगरका १४ वर्षीय किरण कोली सो दिन घरनजिक चौलानी नदीमा साथीहरुसँग नुहाउन गएका थिए ।
नुहाएपछि उनीहरु नजिकै बालुवाको थुप्रोमा खेल्न गए । त्यस क्रममा करेन्ट लागेर किरणको ज्यान गयो । यो घटना हेर्दा सामान्य लागे पनि रहस्यमय देखिन्छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल यसमा जोडिएका छन् ।
करेन्ट लागेर बालकको मृत्यु भएको घटनामा मन्त्री कसरी तानिए त ? चौलानी नदी छेउ बालुवा थुपार्ने काम निङ्लासैनी कन्स्ट्रक्सनले गरेको थियो । जुन मन्त्री पालकी श्रीमती मनिषा पालको नाममा दर्ता छ ।
सामान्य सुरक्षाको ख्यालै नगरी विद्युतको हाइटेन्सन लाइनमा टच हुनेगरी बालुवाको ढिस्को थुपारेको र वरपर तार जालीले घेरासमेत नहालेकोले बालुवामाथिको लाइन छुँदा किरणको ज्यान गएको पीडित परिवारको आरोप छ ।
अर्कोतर्फ,घटनालगत्तै रातारात बालुवा हटाउने,प्रमाण नष्ट गर्ने र आर्थिक प्रलोभनमा पीडितलाई फकाउन खोज्ने प्रयासले झन् प्रश्न उठेको छ । बालकको मृत्युको भोलिपल्टै वडाध्यक्ष रघुवीर बोहराले मृतककी आमा राजमतिको खातामा सुटुक्क पाँच लाख रुपैयाँ जम्मा गरिदिए ।
आफू बेहोस रहेको बेला थाहै नदिई उजुरबाजुर नगर्न खातामा रकम जम्मा गरिदिएको राजमतिको भनाइ छ । वडाध्यक्ष बोहरा र मन्त्री पाल दुवै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनीहरुको मिलीजुलीमा घटना लुकाउन गुपचुप पाँच लाख रुपैयाँ खातामा जम्मा गराइएको पीडित परिवारको ठहर छ ।
यता,घटनाको अनुसन्धानका निम्ति प्रहरी प्रशासन गुहार्दा जाहेरी दर्तासमेत नगरिएको गुनासो पीडित परिवारले गरेका छन् । मन्त्री जोडिएको विषय भएकाले विभिन्न बहाना बनाएर प्रहरी पन्छिएको उनीहरुको आरोप छ ।
छोराको काज किरियापछि आमा राजमति साउन अन्तिममा स्थानीय प्रहरी इलाका कार्यालय पाटन पुगिन् । तर,जिल्ला जानु भन्दै उनलाई फर्काइयो । त्यसपछि सदरमुकाम पुगेर जिल्ला प्रहरी कार्यालयमा राजमतिले जाहेरी दिन खोजिन् ।
जाहेरीमा मन्त्री सुरेन्द्रबहादुर पाल, उनका भाइ मुकेशबहादुर पाल र वडाध्यक्ष रघुविर बोहराको नाम किटान गरिएको छ । तर,मन्त्रीको नाम देखेपछि स्थानीय प्रहरीबाटै मिलाउनु भन्दै जिल्ला प्रहरी कार्यालयले पनि उनीहरुलाई फर्काइदिएको हो ।
अहिले पीडित परिवारले हुलाक कार्यालयमार्फत इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी पठाएका छन् । यद्यपि, त्यो पनि दर्ता भएको छैन ।
सूचनाविपरीत बालुवा उत्खनन् गर्दा मौन पालिका
नदीबाट निकालेर विद्युतको लाइनमुनि थुपारिएको बालुवामा परी बालकले ज्यानै गुमाउँदा स्थानीय डिलासैनी गाउँपालिकाले भने नदीजन्य पदार्थ ढुंगा,गिट्टी,बालुवा उत्खनन्,संकलन तथा निकासी कार्यमा रोक लगाएको पाइएको छ । गाउँपालिकाले गत जेठमा एक सूचना जारी गर्दै असार ४ गतेदेखि भदौ मसान्तसम्म त्यस्ता कार्य निषेध गरेको हो ।
पालिकाभित्र रहेका खोला,नाला,खहरे, खोल्सा तथा नदीबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन्, संकलन तथा निकासी कार्य निषेध गरिएको सूचनामा उल्लेख छ । भनिएको छ, ‘उक्त निषेधित क्षेत्र र अवधिमा नदीजन्य पदार्थको (ढुंगा। गिट्टी, बालुवा) उत्खनन्, संकलन तथा निकासीसम्बन्धी कार्यमा संलग्न सवारीसाधनलाई प्रचलित कानूनबमोजिम कारबाही गरी नदीजन्य पदार्थसमेत जफत गरिने जानकारी गराइन्छ ।’
यद्यपि, सूचनाको अटेर गरेर उत्खनन् गरिएको बालुवा चरम लापरबाहीका साथ हाईटेन्सन लाइनमुनि थुपारेर बालकको ज्यानै जाँदासमेत गाउँपालिकाले कुनै कदम चालेको देखिँदैन ।
पीडित परिवारको प्रश्नः घटनाको भोलिपल्टै किन सुटुक्क पैसा खातामा हालियो ?
राजमतीका देवर तुलाराम आफूहरुले क्षतिपूर्ति नमागेको अवस्थामै वडाध्यक्षले सुटुक्क खातामा पैसा हालिदिएको बताउँछन् । ‘भाउजू बेहोसी हालतमै रहँदा वडाध्यक्षजीले कसको सहमतिमा र किन खातामा पैसा जम्मा गराउनुभयो ?,’ उनको प्रश्न छ, ‘क्षतिपूर्ति नै भएपनि त्यसको केही प्रक्रिया हुन्छ होला नि !’
‘भाउजू बेहोसी हालतमै रहँदा वडाध्यक्षजीले कसको सहमतिमा र किन खातामा पैसा जम्मा गराउनुभयो ?,’
घटनाको अनुसन्धानका जाहेरी बोकेर आफूहरु पटकपटक प्रहरी कार्यालय पुग्दा उल्टै दुर्व्यवहार भएको उनको दुखेसो छ । ‘जाहेरी दर्ता गराउन म र भाउजू इलाका र जिल्लामै पुग्यौं । तर, हामीमाथि राम्रो व्यवहारसमेत गरिएन,’ तुलारामले भने, ‘हुलाकमार्फत जाहेरी पठाएको पनि आठ दिन बितिसक्यो । अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।’
के भन्छन् वडाध्यक्ष ?
घटनाको दोस्रो दिन बिहानैदेखि गाउँलेले क्षतिपूर्ति माग्दै सडक अवरोध र ढुंगामुढा गरेपछि पीडित पक्षकै रोहबरमा क्षतिपूर्तिस्वरुप खातामा पाँच लाख रुपैयाँ जम्मा गरिदिएको वडाध्यक्ष रघुवीर बोहराको भनाइ छ ।
‘हामीले मृतककी आमा राजमतिलाई नै नगद बुझाउन खोजेका थियौं । तर, उनका कान्छा ससुरा हरिचन्द्र कोली, स्थानीय देवेन्द्र कोलीलगायतले खातामै पैसा जम्मा गराउनुपर्ने अडान राख्नुभयो । हरिचन्द्रले नै मृतककी आमा राजमतिको खाता नम्बर दिएपछि रकम जम्मा गरिदिएको हुँ,’ उनले भने ।
सो रकम आफूले बैतडीका साथीसँग मिलेर संकलन गरेको वडाध्यक्ष बोहराको भनाइ छ । ‘रकम जम्मा गरेपछि हरिचन्द्रको छोराको हातमा भौचर थमाइदिएको थिएँ,’ उनले भने ।
अनुसन्धान भइरहेको प्रहरीको दाबी
पीडित परिवारले हुलाकमार्फत पठाएको जाहेरी प्राप्त भएको इलाका प्रहरी कार्यालय पाटन,बैतडीले जनाएको छ । घटनाको भोलिपल्टै जाहेरी दर्ता भएको र हाल अनुसन्धान प्रक्रियामा रहेको कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेन्द्र साउदले बताए ।
उनले भने, ‘हामीले घटनालगत्तै पीडितको जाहेरी लिएर अनुसन्धान अघि बढाएका हौं । अहिले अनुसन्धान प्रक्रियामै छौं । उहाँहरु (पीडित पक्ष) ले पछि पठाउनुभएको जाहेरी पनि प्राप्त भएको छ । अनुसन्धान सकेपछि पीडित पक्षलाई नै बोलाएर थप प्रक्रियामा जानेछौं ।’


टिप्पणीहरू