अगाडि सोल्टी, पछाडि खल्ती

अगाडि सोल्टी, पछाडि खल्ती

काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमाथि असुली धन्दाको ‘हब’ बन्दै गएको आरोप लाग्न थालेको छ । विभागका कर्मचारीमाथि घुस र असुलीमा संलग्न रहेको गम्भीर आरोप खुलमखुल्ला लगाउनेहरु पनि भेटिएका छन् । एकातिर विभागले घुस–असुली नियन्त्रणका लागि अभियान र प्रचारबाजी चलाएको दाबी गरेको छ, अर्कोतिर आफ्नै कर्मचारी असुलीको ‘मिसन’मा सक्रिय रहेको परस्परविरोधी समाचार बाहिरिएका छन् ।

सिंहदरबारको सामान्य प्रशासन र श्रम मन्त्रालय हुँदै सेटिङमा आएका कर्मचारी अहिले पनि अतिरिक्त कमाइ गर्ने उद्देश्यसहित दलालसँग मिलेर असुली धन्दा सञ्चालन गरेको भुक्तभोगीको भनाई छ । वैदेशिक रोजगारीमा जान चाहने युवायुवतीसँग विभागको भोगाइ निकै तीतो बन्ने गरेको छ ।

विभागले अनलाइन सेवामार्फत् श्रम स्वीकृति एक दिनमै पाइने प्रचार गरेको छ । तर वास्तविकता भने फरक रहेको सेवाग्राहीको गुनासो छ । कर्मचारीले दलालमार्फत् ‘कागज नमिलेको’ वा ‘कानुनी समस्या आएको’ भन्दै बखेडा झिक्ने र सेवाग्राहीलाई अन्ततः दलालकै कित्तामा धकेल्ने प्रवृत्ति मौलाएकाले पनि विभागको छबि धुमिल भएको बताइन्छ ।

सोल्टीमोडदेखि नै दलालले सेवाग्राही पछ्याउँदै विभाग वरपरका सटरमा खुलेका ‘वैदेशिक रोजगारी लेखापढी सेवा’, ‘अनलाइन सेवा’, ‘कानुनी परामर्श सेवा’ जस्ता व्यवसायिक असुली धन्दा केन्द्रमा पुर्याउने गरेका छन् । ती सेवादाताको विभागका कर्मचारीसँग मिलेमतो भएकाले सेवाग्राहीसँग निर्वाध रुपमा लेनदेन हुने गरेको बताइन्छ ।

व्यक्तिगत श्रम स्वीकृति शाखादेखि संस्थागत स्वीकृति शाखासम्म दलालको उच्च प्रभाव देखिन्छ । म्यानपावर सञ्चालकसँगको मिलेमतोमा कानुनविपरीत अनुगमन रोकिएको, गाउँका युवालाई प्रलोभनमा पारेर ठगी बढेको, सहमति विपरीत काममा पठाइएको र पारिश्रमिक नदिने समस्या चर्किएको गुनासो सुन्न थालिएको छ ।

यस्तै, अनुगमन तथा प्रशासन शाखाले म्यानपावर नवीकरण, स्वास्थ्य परीक्षण तथा नियमनजस्ता जिम्मेवारी निर्वाह गर्नुको सट्टा मिलेमतो र लेनदेनमा टुंग्याउने गरेको आरोप विभागकै पूर्वकर्मचारीले लगाएका छन् । यसरी बाहिर पारदर्शिता र सुधारको प्रचार गरिएको विभागका कर्मचारी आन्तरिक रूपमा भने ‘सोल्टी पछाडि खल्ती भर्ने’ प्रवृत्तिमा लिप्त देखिएको हो ।

टिप्पणीहरू