हार खानु हुन्न,मेहनत कतै जान्न

हार खानु हुन्न,मेहनत कतै जान्न

सरकारी सेवाले युवा पुस्तालाई खासै आकर्षित गर्न सकिरहेको छैन । सरकारी जागिरमै रहेका कैयौँले वीचैमा राजीनामा दिएर व्यवसाय अंगालेका छन् भने कोही विदेश गैरहेका छन् । तर, यही भीडमा एकजना त्यस्ता युवा पनि छन्,जसले प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा नाम निकाल्न लगातार १४ पटक परीक्षा दिइरहे ।

यो कथा बाराको आदर्श कोतवाल गाउँपालिका-४ घर भएका महताब आलम अन्सारीको हो । ०६८ सालमा माध्यामिक शिक्षा (एसएलसी) पास गरेका उनले ०७० मा प्लस टु र ०७४ मा स्नातक पूरा गरे । मध्यम वर्गीय परिवारमा जन्मिएका अन्सारीलाई जसरी पनि सरकारी सेवामा प्रवेश गर्नुथियो । तर,त्यो बाटो सहज थिएन । 

भन्छन्, ‘धेरै साथी विदेश गएका छन्, तर मलाई कहिल्यै त्यस्तो चाह जागेन ।’ ०७५ सालमा पहिलोपल्ट खरिदारको जाँच दिएका उनी सफल भएनन् । सोही वर्ष असई र इन्सपेक्टरको फारम भरेर परिक्षा दिए, तर दुवैमा असफल ! तीन वटा परीक्षामा फेल भएपछि अन्सारीले पढ्ने विधि र तरिकामा परिवर्तन गरे । र, ०७५ सालमा शाखा अधिकृतको तयारी गरेर अर्को परीक्षा दिए । विडम्बना ! यसपटक पनि उनलाई विफलता नै हात लाग्यो । तर,पनि थाकेनन् । 

गत बैशाख १४ गते इन्सपेक्टरको तालिम पूरा गरेका उनी अहिले जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत छन्

अर्को वर्ष ०७६ मा पुनः शाखा अधिकृत, खरिदार,नायव सुब्बासहित स्थानीय तहको चौथो र पाँचौ परीक्षा दिए,तर कुनै पनि पास भएनन् । यसरी लगातार असफल भएपछि अन्सारीलाई विदेश जाउँ कि जस्तो नलागेको पनि होइन । तर,सरकारी सेवाप्रति उनको यस्तो गहिरो मोह थियो कि मनले मानेन । र, ०७७ मा पुनः असईमा भिड्ने निधो गरे । 

यसपटक भने अन्सारीको मेहनतले सार्थकता पायो,उनी सबै चरणकाे जाँचमा पास भए । ०७८ भदौमा पहिलोपल्ट असईको नियुक्ति लिएर कार्यक्षेत्रमा खटिए । पहिलोपल्ट सरकारी सेवामा प्रवेश गर्दाको अनुभव सुनाउँदै भन्छन्, ‘त्यो मेरो जीवनको सबैभन्दा खुशीको क्षण थियो,नाम निस्केपछि बल्ल मैले बिहे गरेँ ।’

नम्र स्वभाव भएका अन्सारीलाई असईकाे जागिरले मात्रै पुगेकाे थिएन, इन्सपेक्टर बन्नु थियाे । प्रहरी सेवामा प्रवेश गरेको करिब डेढ वर्षपछि उनले इन्सपेक्टरको लागि फारम भरेर परीक्षा दिए । तर,सफल भएनन् । बरु त्यहीबेला गण्डकी प्रदेशको पाँचौ तहमा प्रथम पत्रमा पास भए । नायब सुब्बाको पनि परीक्षा दिएका उनलाई त्यता भने असफलता मिलेन । बाँकी परीक्षा भने नदिएको उनी बताउँछन् । 

प्रहरी सेवामै लागेर देश र जनताको सेवा गर्ने मनस्थितिमा पुगेका अन्सारीले ०८१ मा फेरि इन्सपेक्टरको परिक्षा दिए । लगातारको मेहनतको परिणामस्वरूप  यसपटक उनको नाम निस्कियो,सफल भए । 

गत बैशाख १४ गते इन्सपेक्टरको तालिम पूरा गरेका उनी अहिले जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत छन् । ६ वर्षमा १४ वटा परीक्षा दिएपछि अन्तत: सरकारी सेवामा प्रवेश पाएका उनी सुनाउँछन्, ‘अब पुग्यो, उमेर पनि २९ हुन लाग्यो, अब पद र कर्तव्य बुझेर निष्ठाका साथ जनताको सेवा गरेर बस्छु ।’

टिप्पणीहरू